
ओखलढुङ्गा – सुनकोशी र दुधकोशी नदीको संगमस्थल जोर्तीघाटमा ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लालाई जोड्ने दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।
मानेभञ्ज्याङ गाउँपालिका –६ स्थित जोर्तीघाटमा निर्माण भएका पुलमध्ये ओखलढुङ्गा–खोटाङ जोड्ने पुल १३४ मिटर तथा ओखलढुंगा–उदयपुर जोड्ने पुल १७८ मिटर लम्बाइको रहेको छ । दुवै पुलका मुख्य जिप ९ब्लक० ओखलढुङ्गातर्फ राखिएको जनाइएको छ । सस्पेन्सन बृज डिभिजन कार्यालय पुल्चोक, ललितपुर र अप्पर तामाकोशी जेकेजेभीबीच २०८१ असारमा निर्माण सम्झौता भएको थियो ।
विकट भूगोल तथा उदयपुरतर्फ पुलका ब्लक राख्ने स्थान तय गर्न समय लागेका कारण निर्माण कार्य निर्धारित समयभन्दा करिब ६ महिना ढिलो सुरु भएको निर्माण कम्पनीका सञ्चालक प्रकाश डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार करिब तीन करोड ३१ लाख रुपियाँ लागतमा पुल निर्माण सम्पन्न गरिएको हो ।

जोर्तीघाट जिल्लाकै सबैभन्दा होचो स्थानका रूपमा परिचित छ । प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रमा पुल निर्माण भएपछि तीन जिल्लाबिचको आवत–जावत सहज हुने स्थानीयवासीको अपेक्षा छ । पुल सञ्चालनसँगै व्यापार, कृषि उत्पादन ढुवानी तथा सामाजिक सम्बन्ध विस्तारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
उदयपुरको कटारी नगरपालिका –१४ लेखानी बेन्डीटार, खोटाङको हलेसी तुवाचुङ नगरपालिका –१ ठुलढुंगा र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी सोक्माटारका स्थानीय प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गानका सर्जक ब्याकुल माइला (प्रदीपकुमार राई) ले बताउनुभयो ।
ब्याकुल माइलाका अनुसार पुल निर्माणको औपचारिक माग २०७५ पुस २६ गते उहाँका पिता मानबहादुर राईको निधनपछिको श्रद्धाञ्जली कार्यक्रममा उठाइएको थियो । सो अवसरमा उदयपुर कटारी नगरपालिका–१४ का ७० वर्षीय चक्रबहादुर राईले तत्कालीन जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख जयबहादुर श्रेष्ठ समक्ष पुल निर्माणको आवश्यकता राख्नु भएको थियो ।
त्यसपछि जिल्ला समन्वय समितिको हिउँदे अधिवेशनमार्फत योजना अघि बढाइएको जनाइएको छ । स्थानीयका अनुसार तत्कालीन जिल्ला विकास समितिले २०३६ सालमै उक्त स्थानमा पुल निर्माण गर्ने निर्णय गरेको भए पनि योजना कार्यान्वयनमा आउन सकेको थिएन । सुनकोशी र दुधकोशी नदीको संगमस्थल, प्राकृतिक दृश्य, धार्मिक महत्व तथा तीन जिल्लाको संगम बिन्दु भएकाले जोर्तीघाट आगामी दिनमा महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने स्थानीयको विश्वास छ ।
पुल निर्माणपछि आन्तरिक पर्यटकको आगमन बढ्नुका साथै होटल, व्यापार तथा पर्यटनजन्य गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ । गणतन्त्र दिवस २०८३ को अवसरमा जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराई र खोटाङका पूर्व सांसद टंकबहादुर राईले संयुक्त रूपमा पुल उदघाटन गर्नुभएको छ ।


