Aamsanchar

पाँचथरको दुर्गम गाउँमा पूजामा भेला हुँदा ८ जनामा कोरोना संक्रमण

Author Image
मङ्गलवार, वैशाख २१, २०७८

पाँचथर – जिल्लाको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका–१ च्याङथापुमा सोमबार आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो। यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएको थियो। निम्ता मान्न आएका आफन्तसँगको सम्पर्कले उक्त गाउँमा संक्रमण फैलिएको पाइएको हो।

वैशाख ११ गते यहाँका एक वृद्धको चौरासीको पूजाका लागि झापाबाट वृद्धका दुई आफन्त साविक च्याङथापको नाम्रेक आएका थिए। याङवरक गाउँपालिका–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलका अनुसार चौरासीको पूजा सबैले खुशीसाथ मनाए। भोलिपल्ट आ–आफ्नो बाटो लाग्न थाले। पूजाको आयोजना गरेका स्थानीयवासी र झापा फर्किसकेका आफन्त सबैमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि परीक्षण गराइयो।

‘उहाँहरु तल (झापा) झरेर परीक्षण गराउँदा कोभिड–१९ को रिपोर्ट पोजेटिभ देखियो,’ वडाध्यक्ष ढुङ्गेलले भने, ‘पाहुना आएकाहरुमा संक्रमण देखिएपछि यहाँका आफन्तलाई बाहिरफेर ननिस्कन भनेका थियौँ। हिजो एन्टिजेन परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भयो।’ यहाँका संक्रमितलाई ज्वरो आइरहेको र होमआइसोलेशनमा बस्न भनिएको वडाध्यक्ष ढुङ्गेलले बताए। उनले भने, ‘गाउँपालिका अध्यक्षसँग परामर्श गरेर कसरी राख्ने भन्ने निर्क्यौल गर्छौं।’

चौरासीको पूजा लगाएका ८४ वर्षीय वृद्धलाई स्वास्थ्य समस्या बढी भएको पाइएको वडाध्यक्ष ढुङ्गेलले बताए। उनले भने, ‘पूजा लगाउने व्यक्तिले श्वास फेर्न समस्या भएको बताउनुभएकाले अस्पताल लैजाने तयारी गरेका छौं।’ यता सदरमुकाम फिदिममा सोमबार १५ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोभिड–१९ संक्रमण भेटिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए। आइतबार फिदिममै एक कर्मचारी र एक सैनिकमा संक्रमण भेटिएको थियो। आज बिहानसम्म जिल्लामा कुल संक्रमितको संख्या ११ पुगेको सुवेदीको भनाइ छ। जिल्लाका अरु पनि संक्रमित भए पनि बाहिर, निजी प्रयोगशालामा परीक्षण गराएकाहरुको रेकर्ड स्वास्थ्य कार्यालयसँग नहुने सुवेदीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)