Aamsanchar

कोभिड-१९ को संकट समाधानको लागि बेलायतवासी नेपालीहरूद्वारा दुई करोड २० लाख संकलन

Author Image
शनिवार, जेठ ८, २०७८

लन्डन –नेपालमा तीव्र रुपमा बढ्दै गएको कोभिड-१९ को संकट समाधानको लागि आपतकालीन सहयोग स्वरूप बेलायतवासी नेपालीहरूद्वारा एक साता पनि नपुग्दै दुई करोड बीस लाख रुपैयाँको प्रतिवद्धता प्राप्त भएको छ । गत मे १५, मा बेलायतका लागी नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्य र उप नियोग प्रमुख श्रीमती रोशन खनाल समेतको विशेष उपस्थितिमा एनआरएन यूकेको संयोजन एवं बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, संरक्षक परिषद, आइसीसी सदस्यहरु तथा पदाधिकारीहरूको बृहत बैठक सम्पन्न भएको थियो ।

सो बैठकले ‘अक्सिजन पठाऔँ – नेपालीको ज्यान बचाऔँ’ अभियान अन्तर्गत एक संस्था – न्यूनतम एक अक्सिजन कन्सन्ट्रेटर अभियान सञ्चालन गरेको थियो । प्रति अक्सिजन कन्सन्ट्रेटरको लागि करिब ७०० पाउन्डका दरले सहयोग रकम संकलन गरिएको हो ।

विभिन्न संघसंस्था तथा व्यक्तिगत पहलमा समेत निरन्तर सहयोग संकलन भैरहेको एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए । छैटौं दिनसम्ममा १९१ थान अक्सिजन कन्सन्ट्रेटरको लागि एक लाख ३३ हजार ७०० पाउण्ड अर्थात करिब दुई करोड बीस लाख रुपैयाँ बराबरको प्रतिवद्धता आइसकेको पनि भट्टराईले बताए ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले मातृभूमिमा परेको संकटको बेला सक्दो सहयोग गर्न सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई अपिल गरेकी छन् ।

अभियानको छैटौं दिन पनि उत्साहजनक रुपमा सहयोगहरु प्राप्त भैरहेको आइसीसी सदस्य रामशरण सिम्खडाले रातोपाटीलाई बताए । बेलायतबाट कम्तिमा पनि दुई करोड ५० लाख बराबरको सहयोग हुने उनको आंकलन छ । ‘छोटो समयमा नै विभिन्न संघसंस्था र व्यक्तिगत पहलमा भएको यो उत्साहजनक सहयोगबाट बेलायतवासी नेपालीको मातृभूमि प्रति कत्तिको मोह छ भन्ने स्पष्ट हुन्छ’ सिम्खडाले भने ।

करिब एक सय वटा संघसंस्था तथा दुई दर्जन बढी व्यक्तिहरुले प्रतिवद्धता व्यक्त गरिसकेका छन् भने यो क्रम अझै जारी छ । जीवन रक्षाको पहिलो प्राथमिकता नै अक्सिजन कन्सन्ट्रेटर भएको र नेपालमा अक्सिजनका कारण कयौंको ज्यान गइरहेको हुँदा अक्सिजन कन्सन्ट्रेटर नै सहयोग गर्ने योजना अनुरुप काम अघि बढिरहेको हो । अबको केहि दिन भित्र नै कम्तिमा पनि १५० थान अक्सिजन कन्सन्ट्रेटर मसिन नेपालको अति प्रभावित क्षेत्रमा पुर्याइने एनआरएनए यूकेले जानकारी दिएको छ ।

राजदूत लोकदर्शन रेग्मीको प्रत्यक्ष निगरानीमा प्रक्रियालाई तीव्रताका साथ अघि बढाइएको छ । नेपाल सरकारले अख्तियारी गरेको एकद्वार प्रणाली मार्फत भन्सार तथा कर छुट लगायत निशुल्क ढुवानीको ब्यवस्था मिलाई न्यूनतम १५० थान यहि मे २८ तारिख भित्र नेपाल पठाउने प्रकृयालाई तीव्रता दिइएको छ ।

नेपालमा परेको संकटमा विदेशमा बस्ने नेपालीको योगदान उल्लेखनीय रहँदै आएको छ । आफ्नो गाँस काटेर भएपनि मातृभूमिको पीडामा मलम लगाउन संसार भरिका नेपालीहरु एक भएर लागि परेका छन् । जसको लागि गैरआवासीय नेपाली संघले खेलेको भूमिका अत्यन्त सह्रानिय छ । विदेशमा अलपत्र परेका नेपालीको उद्धार देखि लिएर नेपालमा स्वास्थ्य सामग्री पुर्याउने काममा समेत एनआरएनए ले उत्तिकै भूमिका निर्वाह गर्दै आइरहेको छ ।

कोरोना महामारीका कारण आक्रान्त बनेको नेपालको आन्तरिक स्रोत र साधन पर्याप्त नभएपछि विदेशी मुलुकले सहयोग कार्य शुरु गरेका छन् । बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्डस्मा नेपाललाई कोभिडविरुद्ध सहयोगबारे बिहीबार दिउसो १२.४० देखि करिब ११ मिनेटसम्म वहस चलेको थियो । विगत दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटेनको हरेक द्धन्द्ध र संकटमा बहादुर नेपालीले लडेर आफ्नो ज्यानको आहुति दिएका स्मरण गर्दै नेपाल सरकारले २० लाख खोप उपलब्ध गराउन ब्रिटेनसँग गरेको आग्रहबारे लर्ड ल्याङ्कास्टर अफ किम्बोल्टनले जिज्ञासा राखेका थिए ।

प्रतिउत्तरमा बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले ब्रिटेनले कोभ्याक्स अन्तर्गत तीन लाख ४८ हजार डोज नेपालमा डेलिभरी भइसकेको सदनलाई जानकारी पनि गराएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर