
महिनावारी महिलाको शरीरमा हुने प्राकृतिक प्रक्रिया हो । तर यो समयमा धेरै महिलाले पेट दुख्ने, ढाड भारी हुने, शरीर गल्ने, टाउको दुख्ने, बान्ता हुने वा रिँगटा लाग्ने जस्ता समस्या भोगिरहेका हुन्छन् । कतिपयलाई त दुखाइ कम गर्ने औषधि बिना दैनिक काम गर्नसमेत गाह्रो पर्छ । यस्तो अवस्थामा खानपानमा ध्यान दिन सके प्राकृतिक रूपमा पनि पीडा केही हदसम्म कम गर्न सकिने चिकित्सकहरूको सुझाव छ ।
स्त्रीरोग विशेषज्ञ डा. स्वातीकुमारी पाण्डेका अनुसार महिनावारीको समयमा शरीरलाई आराम दिने तथा दुखाइ कम गर्न मद्दत गर्ने केही खानेकुरा विशेष उपयोगी मानिन्छन् ।

महिनावारीमा फाइदाजनक खानेकुरा

केरा
केरामा फाइबर र म्याग्नेसियम प्रशस्त पाइन्छ । यसले पेटको असहजता कम गर्नुका साथै मांसपेशी खुम्चिने समस्या घटाएर दुखाइ कम गर्न सहयोग गर्छ ।
कागती
धेरैले महिनावारीमा अमिलो खानु हुँदैन भन्ने विश्वास गर्छन् । तर चिकित्सकका अनुसार यो केवल भ्रम मात्र हो । कागतीमा पाइने भिटामिन ‘सी’ ले शरीरमा आइरनको मात्रा बढाउन मद्दत गर्छ, जसले कमजोरी कम गर्न सहयोग पुर्याउँछ ।
सुन्तला
सुन्तलामा पनि पर्याप्त भिटामिन ‘सी’ पाइन्छ । यसले शरीरलाई ताजगी दिनुका साथै महिनावारीको समयमा हुने असहजता कम गर्न मद्दत गर्छ ।
खरबुजा
खरबुजामा रहेका भिटामिन र खनिज तत्वले शरीरलाई हाइड्रेट राख्छन् । यसले थकान कम गर्नुका साथै शरीरलाई हल्का र सहज महसुस गराउन मद्दत गर्छ ।
अदुवा मिसिएको चिया
थोरै चिनी राखेर वा बिना चिनीको अदुवा चिया महिनावारीको समयमा लाभदायक मानिन्छ । यसले पेट दुख्ने, वाकवाकी लाग्ने र टाउको दुख्ने समस्या कम गर्न सहयोग गर्छ । क्यामोमाइल चिया पनि उपयोगी हुन सक्छ ।
के खानेकुरा कम खानु राम्रो ?
महिनावारीको समयमा दूध हालेको चिया धेरै पिउँदा ग्यास्ट्रिक बढ्न सक्छ र पेट झन् दुख्न सक्छ । त्यस्तै कफीमा हुने क्याफिनले शरीरलाई असहज बनाउने भएकाले सकेसम्म कम पिउनु राम्रो हुन्छ ।
त्यसैगरी अत्यधिक चिल्लो, पिरो, क्यानमा राखिएका खानेकुरा तथा धेरै दूधजन्य पदार्थ पनि कम खान चिकित्सकहरूले सुझाव दिएका छन् । केही महिलामा गेडागुडीले पेट फुल्ने वा असहज बनाउने भएकाले यस्तो समयमा हल्का र सजिलै पच्ने खाना खानु बढी उपयुक्त मानिन्छ ।


