Aamsanchar

नेपाललाई खोप दिन बेलायतका १६ जना सांसदको दबाब, लेखे विदेशमन्त्री रावलाई पत्र

Author Image
बुधवार, जेठ २६, २०७८

काठमाडौं – कोरोनाको दोस्रो लहरसँग जुघिरहेको नेपाललाई तत्काल खोप लगायतका जरुरी स्वास्थ्य सहायता उपलब्ध गराउन दबाब दिँदै बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन्। मन्त्री रावलाई बुझाइएको पत्रमा तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन आग्रह गरिएको छ। कोभ्याक्सबाट खोप आउन ढिलाइ हुने देखिएकाले केही राज्यमा लगाइ राखिएको खोपमा कटौती गरेर र अन्य विकासशील मुलुकलाई दिने भनिएको खोप नेपाललाई प्रदान गर्न समेत भनिएको छ।

स्वास्थ्य सहायता उपलब्ध गराउन ढिला भैसकेको उल्लेख गर्दैै उनीहरुले यसै साता बेलायती सेनाको चिकित्सकीय टोली काठमाडौं पठाउन लागेको कुरा स्वागतयोग्य भएको समेत जनाएका छन्। नेपाली गोर्खाले कठिन समयमा बेलायतलाई साथ दिएको प्रसंग उल्लेख गर्दै ती सांसदले नेपाललाई जरुरी परेको बेला बेलायतले पनि सघाउनुपर्ने धारणा राखिएको छ।

नेपालमा संक्रमितमध्ये भाइरसको इन्डियन भेरियन्टसँग ९७ प्रतिशतमा देखिएको र द्रुतगतिमा फैलिँदै गरेको, स्वास्थ्य पूर्वाधार, अक्सिजन लगायतको अभाव भएको उल्लेख गर्दै उनीहरूले तत्कालै सहायताका लागि आग्रह गरेका हुन्।

बेलायतका १६ जना सांसदहरु क्रिस्टी ब्ल्याकमेन, माइक एम्सबेरी, सराह चम्पियन, एलन डोरान्स, प्याट्रिक ग्रेडी, निल हानभेई, क्रिस ल, क्यारोलिना लुकास, केन्नी म्याक्सअस्किल, स्टेवार्ट म्याकडोनाल्ड, क्यारोलिन नोक्स, टोमी सेपर्ड, जराह सुल्ताना, एलिसन थेल्विस, क्लाउडिया बेब्बे र माइक ह्वाइटको हस्ताक्षर छ।

पत्रमा नेपालमा संक्रमित दर ५० प्रतिशतको आसपास रहेको, कतिपय समुदायमा ९० प्रतिशतमा पुगेको तथा कुल जनसंख्याको सात प्रतिशतले पहिलो डोज खोप पाएको र दुई डोज खोप लगाउनेहरूको संख्या दुई प्रतिशत आसपास मात्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले पत्रमा भनेका छन्, ‘यो स्थिति नेपालका लागि मात्र ठूलो प्रकोप होइन, कोभिड– १९ बाट निको हुने सन्दर्भमा विश्वका लागि नै जोखिमसमेत हो।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर