Aamsanchar

घरको भान्सा कोठामा लुकाएको हतियार र छ राउण्ड गोलीसहित २ जना मोरङबाट पक्राउ

Author Image
बुधवार, जेठ २६, २०७८

विराटनगर – भान्सा कोठामा लुकाएको हतियार र छ राउण्ड गोलीसहित प्रहरीले मोरङको केराबारीबाट मंगलबारसाँझ दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ लालभित्तीका ४१ वर्षीय पदमकुमार लिम्बू र केराबारी गाउँपालिका–९ देवीझोडाका ५१ वर्षीय गणेशकुमार लिम्बू रहेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय केराबारीको सहयोगमा दुवै जनालाई गणेशको घरबाटै पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कटुवा पेस्तोल र छ राउण्ड गोलीसहित दुई पुरुषलाई केराबारी गाउँपालिका–९ देवीझोडाबाट पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ परेकामध्ये गणेशको घरको भान्सा कोठामा लुकाएर राखेको अवस्थामा पेस्तोलसहित ३०३ राइफलको पाँच राउण्ड र पेस्तोलको एक राउण्ड गोली बरामद भएको हो ।

बेलबारीबाट को १ च ८३६८ नम्बरको कारभित्र राखेर गोली र पेस्तोल पदमले गणेशको घरसम्म पुर्‍याएको खुलेको एसपी खड्काले बताए । गणेशकै घरको आँगनमा पार्किङ गरेर राखिएको अवस्थामा खानतलासी गर्दा कारभित्रबाट खुकुरी र चक्कु पनि बरामद भएको उनको भनाइ छ ।

‘बेलबारीबाट कारमा राखेर पुर्‍याइएको हतियार गणेशको भान्सा कोठामा लुकाएको अवस्थामा भेटियो,’ खड्काले भने, ‘त्यसपछि दुवैजनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको छ ।’ खड्काका अनुसार हतियार कुन प्रयोजनका लागि कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान थालिएको छ । पक्राउ परेका दुवैजनाविरुद्ध हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए ।

कारभित्र हतियार राखेर हिँड्ने गरेको सूचना यसअघि नै आएपछि प्रहरीले पदमको पिछा गरिरहेको थियो । विगतमा कुनै अपराधिक घटनामा पक्राउ परेकाहरुको संलग्नता छ कि छैनभन्ने बारेमा यकिन गर्न पृष्ठभूमिका बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर