Aamsanchar

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरीले भने : खेलाडीले गोर्खाली जसरि खेले

Author Image
शनिवार, जेठ २९, २०७८

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपाली टोलीको प्रदर्शनको प्रशंसा गर्दै खुसी रहेको बताए । अलमुताइरीले अष्ट्रेलियाजस्तो बलियो टोलीविरुद्ध खेलाडीले गरेको मिहिनेतको प्रशंसा गरे । ‘धन्यवाद मेरो खेलाडीहरुलाई । उनीहरु मेरो हिरोहरु हुन् । आजको खेल निकै कठिन थियो,’ उनले भने, ‘पहिलो हाफको सुरुवातमा नै गोल खान पुग्यौं, र दोस्रो हाफमा १० खेलाडीमा समेटिन पुग्यौं । तर खेलाडीहरुले आफ्नो मिहिनेत कम हुन दिएनन् र म यसमा खुसी छु ।’

‘हामीले नेपालका समर्थकहरुको लागि लड्ने बाचा अनुसार खेल्न खोज्यौं । रक्षात्मक मात्र रहेर नखेल्ने बताएजस्तै केहि अवसर काउन्टरमा सिर्जना पनि गर्यौं । तर गोल हुन भने सकेन,’ उनले थपे, ‘हाम्रो टोलीलाई अष्ट्रेलियाले सम्मान गरेर खेल्यो । जोर्डन र कुवेतविरुद्ध जस्तै रणनीति भएपनि हाम्रो खेलाडीले आफ्नो जिम्मेवारी निर्वाह गरे । आउने दिनमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको छ ।

प्रशिक्षक अलमुताइरीले मिडफिल्डमा टोलीले निकै मिहिनेत गरेको अभिव्यक्ति दिए । ‘हामीले रक्षात्मक खेलेको होइन । मिडफिल्डमा जम्ने मानसिकता अनुसार खेल्यौं । मिडफिल्डमा धेरै मिहिनेत गर्दा डिफेन्समा पनि दबाब पर्न दिएनौं । अष्ट्रेलियाको हाफमा गएर खेल्न सम्भव नहुँदा मिडफिल्डमा धेरै ध्यान दिएका थियौं,’ उनले भने ।

शारीरिक रुपमा निपुण अष्ट्रेलियाविरुद्ध आक्रमण गर्न निकै कठिन रहेको उनले स्वीकारे । ‘हामीले काउन्टर मुभ बनाउन खोजेका हौँ । तर अष्ट्रेलिया शरीरिक रुपमा निकै अघि थिए । हामीले बिना डर खेलेका हौं र केहि अवसर पनि बन्यो । तर निर्णायक मुभ बनाउन भने सफल भएनौं,’ उनले थपे ।

उनले खेलाडीको भिड्ने मानसिकताको प्रशंसा गरे । ‘आज हाम्रो खेलाडीले गोर्खाली जसरि खेले । १० खेलाडी होस् या ११, हामीले हरेक समय भिडेर खेल्यौं । सुरुवात गरेको होस् या वैकल्पिक जसले पनि टोलीका लागि मिहिनेत गरेका छन्,’ उनले थपे, ‘खेलमा सबैले मिहिनेत गरेका छन् । हामीले यस्तो मानिसकता विकास गर्नुपर्छ ।’

‘टोलीमा परेपछि सबै खेलाडीको समान महत्त्व छ । यस टुरमा सबैले खेलको अनुभव बटुले र अवसर पाए । अहिलेको हाम्रो लक्ष्य ३०-४० जनाको टोली निर्माण गर्नु हो । दिर्घकालिन रुपमा विकास गर्ने लक्ष्य लिएर अघि बढेका छौँ । त्यसैले अझै मिहिनेत जरुरी छ,’ उनले टुंग्याए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर