काठमाण्डौ- उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शीर्ष नेताहरुको बैठकमा नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताउनुभएको बीबीसीले जनाएको छ । गएको वर्ष आँधीका कारण आएको बाढीले खेतिपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्न नसकेको उहाँले बताउनुभयो ।
उत्तर कोरियामा खाद्यान्न, फलफूल र तरकारीलगायतका कृषि उपजको मूल्य धेरै बढेको छ । उत्तर कोरियामा एक किलो केरा स्थानीय तीन हजार वनमा बिक्री भइरहेको बीबीसीले जनाएको छ । उत्तर कोरियाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आफ्नो सीमा बन्द गरेको छ ।
सीमा बन्द हुँदा चीनसँगको उसको व्यापारिक गतिविधि ठप्प छ । खाद्यान्न, मलखाद तथा उर्जाका लागि उत्तर कोरिया चीनमा निर्भर रहँदै आएको छ । यस्तै परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धले पनि उत्तर कोरिया समस्यामा छ ।
बैठकमा किम जोङले केही समयमै खाद्यान्न अभाव ठूलो समस्याका रुपमा आउने भन्दै मागअनुसारको उत्पादनमा जोड दिने गरी नीति बनाउन सम्बधित अधिकारीलाई निर्देशन दिनुभएको बीबीसीले जनाएको छ । बैठकमा अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धका बारेमा पनि छलफल सुरु भएको बताइएको छ ।