Aamsanchar

फल हुर्कंदै गर्दा किबी कुहिएर झर्न थालेपछि किसान चिन्तित

Author Image
मङ्गलवार, असार १५, २०७८

सोलुखुम्बु – सोलुखुम्बाको विभिन्न ठाउँमा लगाइएको किबीको फल झर्न थालेपछि किसानहरु चिन्तित भएका छन्। भर्खर फल हुर्कंदै गर्दा डाँठ कुहिएर फल नै झर्न थालेपछि उत्पादनमा समेत गिरावाट आउने भन्दै किसानहरुमा चिन्ता बढेको हो। सोलु दुधकुण्ड नगरपालिका–४ का सोनाम शेर्पाले एक हेक्टरमा किबी खेती गदै आएका छन्। उनको बगैंचाको किबीको फल झर्नका साथै बोट समेत मर्न थालेको उनले बताए। नेचासल्यान गाउँपालिका–३ का साङगे लामा राईले पनि आफ्नो बगैंचाको किबी फल ५० प्रतिशतभन्दा धेरै झरेको बताए।

सोलुखुम्बुमा किबी खेतीको प्रचुर सम्भवना भएकाले केही वर्षयता किबी खेतीतर्फ किसानको आकर्षण बढदै गएको छ। ११५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा किबी खेती हुँदै आएको छ। वार्षिक रुपमा ८० मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ। प्रतिकिलो २०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने किसानहरु बताउँछन्। सोलुखुम्बुबाट वार्षिक ८० लाख रुपैयाँ बराबरको किबी जिल्लाबाहिर निर्यात हुने गरेको छ।

एक पटक लगाएको बिरुवाले २० वर्षसम्म उत्पादन दिने विज्ञको सुझावपछि सोही खेतीमा लागेका किसान खिन्जु शेर्पा यसपटकको समस्याका कारण निराश बनेका छन्। ‘यस वर्ष उत्पादनमा धेरै गिरावट आउने हाम्रो अनुमान छ,’ शेर्पाले भने, ‘कृषिमा आत्मनिर्भर बन्न खोजे पनि रोगले गर्दा सबै मन मरेर आउँछ।’

अहिले जिल्लामा ग्रिन, रेड, ब्रुनो, हे–वार्ड लगायत जातका किबी उत्पादन भइरहेको छ। किबीलाई रोगबाट बचाउन माटोको ढिस्का उठाई विरुवा रोप्ने व्यवस्था मिलाउने, विरुवा रोप्दा वा गोडमेल गर्दा जरा तथा काण्डमा चोटपटक लाग्न वाट बचाउने लगाउतका उपाय अबलम्बन गर्नुपर्ने पूर्व बागबानी अधिकृत चन्द्रमाण श्रेष्ठको सुझाब छ।

किबी खेतीका लागी सिँचाइ आवश्यक पर्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने र कुनै पनि विरुवालाई खाना आवश्यक पर्ने भएकाले त्यसको कमी भएमा फल झर्ने श्रेष्ठ बताउँछन्।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका, थुलुङदुधकोशी, महाकुलुङ, नेचा सल्यान र माप्यदुधकोशी गाउँपालिकाको विभिन्न क्षेत्रमा किबी खेती हुँदै आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किबी बल्क कार्यक्रम सञ्चालन गरेको छ। जसबाट विरुवा, थाग्रा लगायतमा अनुदान पाएपछि कृषकलाई राहत मिलेको थुलुङ दुधकोशी–९ का सम्पुरे तामाङले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर