Aamsanchar

राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अल्मुताइरीको सम्झौता थप्ने प्रस्ताव

Author Image
शनिवार, असार २६, २०७८

काठमाडौं-  नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सम्झौता थप गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रक्रिया अघि बढाएको छ । तीन महिना अघि नेपाल आएका अल्मुताइरीले सम्हालेदेखि टोलीको प्रदर्शन र भविष्यका लागि आशावादी भएरै अल्मुताइरीको प्रशिक्षण अवधिलाई थप गर्न एन्फाले गत साता कतार फुटबल संघलाई पत्राचार गरेको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । सन् २०२२ को सेप्टेम्बरसम्मका लागि अल्मुताइरीको सम्झौता थपका लागि प्रस्ताव गरिएको बताइएको छ ।

यसअघि उनको सम्झौता २०२२ को अप्रिल अन्तिमसम्म थियो । प्रस्ताव पारित भएको खण्डमा पहिला भन्दा ६ महिना बढी उनी टोलीको मुख्य प्रशिक्षक रहनेछन् । कतार फुटबल संघ एन्फालाई सहयोग स्वरुप आफैले पारिश्रमिक बेहोर्ने गरि पठाएको हो । सम्झौता थपका विषयमा कतारबाट जवाफ आइनसकेको पनि उनले जानकारी दिए ।

अझै झन्डै ९ महिना सम्झौता बाँकी रहँदा थप्नु पर्ने आवश्यकता देखियो भन्ने प्रश्नमा प्रवक्ता राईको जवाफ छ, ‘कतार फुटबल संघले उहाँलाई नियुक्त गरेको हो । त्यसैले अवधि सकिने बेलामा प्रस्ताव गर्दा प्रक्रियामा ढिलाई पनि हुन सक्छ । त्यो भन्दा अगाडि नै आफ्नो प्रस्ताव राख्दा सहज हुने देखेर गरेका हौं ।’

राईले त्यसो भनिरहँदा श्रोतका अनुसार भने आफ्नो सम्झौता थप्नका लागि अल्मुताइरी आफैंले एन्फामाथि दबाब बढाएका थिए । उनले आफ्नो पारिश्रमिकमा पनि परिमार्जन हुनुपर्ने माग राखेपछि एन्फाले नयाँ सम्झौताको प्रस्ताव पठाएको हो । प्रो लाइसन्स प्राप्त अलमुताइरी गत चैतमा नेपाल आएका थिए । उनको प्रशिक्षणमा नेपाली टोलीले कुवेतमा विश्व कप तथा एसिया कप छनोट अन्तर्गत अन्तिम ३ खेल खेलेको थियो । त्यस भन्दा अघि इराकविरुद्ध उसै भूमिमा मैत्रीपूर्ण खेल खेलेको थियो ।

मैत्रीपूर्ण खेलमा इराकसँग ६–२ ले पराजित भएको नेपाली टोलीले कुवेतमा भएको छनोटमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो । अन्तिम दुई खेलमा नेपाली टोली जोर्डन र अष्ट्रेलियासँग समान ३–० ले पराजित भएको थियो । नयाँ प्रस्ताव कतारले स्वीकार गरेको अवस्थामा अल्मुताइरीले २०२२ को फेब्रुअरीमा सुरु हुने एसिया कप छनोटको तेस्रो चरणका लागि टोली सम्हाल्नेछन् । अहिले सप्टेम्बरमा हुने साफ च्याम्पियनसिपका लागि अलमुताइरीले ५० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गराईरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर