Aamsanchar

जनकपुर–जयनगर ट्रयाकको परिक्षणका क्रममा रेलले किचेर खसीबाख्रा मरे

Author Image
आइतवार, साउन ३, २०७८

बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको सफल परीक्षण गरिएको छ । आइतबार भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर दूरीमा प्रतिघण्टा १२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा भारतीय रेल सञ्चालन गरिएको हो ।पूर्वसूचनासहित ट्रयाक परीक्षण गरिएको भए पनि स्थानीयवासीले रेलवे ट्रयाकमै चौपाया बाँधेका कारण रेलले किचेर चौपायाको मृत्यु भएको छ । रेलले किचेर धनुषाको महुवास्थित रेल्वे लिकमा चरिचरण गरिरहेका एक खसी र एक बाख्राको मृत्यु भएको हो ।

रेल सञ्चालनको पूर्वतयारीको शिलशिलामा रेल्वे ट्रयाकको स्पिड टेस्ट र सर्टिफिकेसन गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गरिएको हो ।

महाप्रबन्धक भट्टराईले ट्रयाकको स्थितिबारे जानकारी लिन आज स्पिड टेस्ट गरिएको बताए । उनले भने, ‘यो एउटा फर्मल प्रक्रियामात्र हो ।’ नयाँ ट्रयाकको संरचना बनेपछि रेल सञ्चालन पूर्व ट्रयाकको स्थिति के छ र यो सुरक्षित छ कि छैन भन्ने परीक्षण गर्नुपर्ने भएकाले आइतबार सोही बमोजिम परीक्षण गरिएको उनको भनाइ छ ।

भारतीय पक्षले रेल सञ्चालन गर्नका लागि ट्रयाक सुरक्षित रहेको प्रमाणित गरेपछि नेपाल सरकारले सञ्चालनका बाँकी प्रक्रियाहरु सुरु गर्ने उनले बताए । भारत सरकारसँग समन्वय गरेर रेल हस्तान्तरणको प्रक्रिया पनि चाँडै पूरा गरिने उनले जानकारी दिए ।

उनले भने, ‘हामी पूर्ण रुपले तयारी अवस्थामा छौं । अब सरकारको स्तरबाट मात्र गर्नुपर्ने काम बाँकी छ । मन्त्रालयस्तरमा छलफल गरेर कुन दिनदेखि सञ्चालन गर्ने भन्ने कुराको निष्कर्ष निस्कन्छ ।’ नियमित रेल सञ्चालनको ठ्याक्कै मिति तोक्न नसकिने भन्दै उनले राजनीतिक नेतृत्व नै संलग्न हुने विषय रहेकोले यसमा आफूले चाहेर पनि केही गर्न नसक्ने बताए ।

उनले दुई सय जनशक्तिलाई तालिम दिई तयारी अवस्थामा राखिएको र भारतीय जनशक्तिसमेत तयारी अवस्थामा रहेकोले रेल सञ्चालनका लागि जनशक्तिको कुनै समस्या नरहेको जानकारी दिए । औपचारिक रुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालन हुने उनको भनाइ छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा यसअघि पनि रेल सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन जनकपुरसम्म ल्याइएको थियो । भारत सरकारको सहयोगमा ५ अर्ब ४८ करोड भारतीय रुपैयाँको लगानीमा पूर्वाधार निर्माण गरिएको छ भने नेपालले आफ्नै लगानीमा करिब ५२ करोड रुपैयाँको लागतमा १६ सय एचपीको दुई इलेक्ट्रिक इन्जिनसहितको डेमो रेल खरिद गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर