काठमाडौं – अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । शनिबार सुरक्षा अलर्ट जारी गर्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई आईएसको सम्भावित आक्रमणबाट जोगिन भनेको हो ।
आईएसको सम्भावित आक्रमणबारे अधिक जानकारी भने दिइएको छैन । आईएसले पनि आक्रमणको धम्की दिएको सार्वजनिक भएको छैन । तर अमेरिकी रक्षा अधिकारीहरुले भने आफ्ना नागरिकलाई ‘ढोका बाहिर हुन सक्ने सुरक्षा खतरा’बाट आफूलाई टाढै राख्न र सुरक्षित रहन भनेको बीबीसीले जनाएको छ । अमेरिकी अधिकारीहरुले अफगानिस्तानको स्थितिलाई नजिकबाट नियालिरहेको जनाएका छन् ।
राजधानी काबुलस्थित विमानस्थल बाहिर आतंक जारी रहेका बेला अमेरिकाले सम्भावित आक्रमणको खतराबारे जानकारी गराएको हो । विमानस्थलबाहिर एक जर्मन नागरिकमाथि गोली प्रहार भएको थियो । अमेरिकाले विमानस्थलबाहिरको भिडभाडमा नजान भनेको छ ।
एक हप्ता अगाडि तालिबान विद्रोहीले राजधानी काबुलसहित पूरै अफगानिस्तानमा कब्जा जमाएका थिए । त्यसलगत्तै काबुल छाड्नेहरुको भिड विमानस्थल वरपर देखिन्छ । विमानस्थलको भित्री परिसर भने अमेरिकी सेनाको नियन्त्रणमा छ ।
शनिबार एक प्रेस कन्फ्रेन्सको क्रममा अमेरिकी रक्षा विभागले एयरपोर्टबाट हालसम्म १७ हजार मानिसलाई उद्धार गरिसकेको र तीमध्ये २ हजार ५ सय अमेरिकी नागरिक पनि रहेको जनाएको छ ।