Aamsanchar

भारतमा एक नेपाली युवतीको रेलको ठक्करबाट मृत्यु

Author Image
सोमवार, भदौ ७, २०७८

काठमाडौं – भारतको मुम्बईमा एक नेपाली युवतीको रेलको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया कालु परियार रहेको भारतीय मिडियाहरुले जनाएका छन् । रेलको लिकमा मोबाइल फोन हराएपछि खोजिरहेको बेला तीव्र गतिमा आएको रेलले उनलाई ठक्कर दिएको र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इन्डियन एक्सप्रेसले जनाएको छ । घटना भएको एक महिनापछि उनको शव परिवारका सदस्यलाई जिम्मा लगाइएको सरकारी रेल्वे प्रहरी ९जीआरपी०ले जनाएको छ ।

घटना २२ जुलाई (साउन ७ गते) को दिन सानपाडा र जुइनगर रेलवे स्टेशनको बीचमा भएको हो । तर आफन्त पत्ता लाग्न ढिला भएकाले शव बुझाउन ढिला भएको प्रहरीको भनाइ छ । ‘त्यो दिन उनी आफ्नो साथीलाई भेट्न नेरुल जाँदै थिइन् । त्यही बेला उनको मोबाइल रेल्वे लिकमा झर्यो । त्यसपछि उनी रेलवे स्टेशनमा ओर्लिइन् र लिकमा आफ्नो फोन खोज्न थालिन् । त्यही बेला तीव्र गतिमा आएको अर्को रेलले उनलाई ठक्कर दियो,’ भासीस्थित जीआरपीका वरिष्ठ निरीक्षक विष्णु केसरकरले भनेका छन् । गम्भीर घाइते भएकी उनलाई सायन अस्पतालमा भर्ना गरिएको र २ अगष्ट ९साउन १८ गते० मृत्यु भएको समाचारमा उल्लेख छ ।

उनको परिवारका सदस्य पत्ता लगाउन प्रहरीले नेपाली समुदायसँग मद्दत लिएको थियो । उनको तस्वीर र विवरण उल्लेख गरेर युट्युबमा भिडियो बनाइएको र रेडियो तथा टिभी च्यानलबाट समाचार प्रसारण गरिएको थियो । परियारको भाइले समाचार सुनेपछि प्रहरीसँग सम्पर्क गरेको र सनाखत गरी बिहीबार शव जिम्मा लगाएको प्रहरी निरीक्षक केसरकरले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर