काठमाण्डौ- अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आईएस) लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको छ । ड्रोन आक्रमणमा आईएसका एक सदस्य मारिएका अमेरिकी सैनिकलाई उदृत गर्दै बीबीसीले जनाएको छ । मारिने व्यक्ति गएको बिहीवार काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित १ सय ७० भन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणका योजनाकार रहेको दाबी गरिएको छ ।
नानगहार प्रान्तमा भएको आक्रमणमा आईएसको समूहका योजनाकारलाई निसाना बनाइएको खबरमा उल्लेख छ । ड्रोन आक्रमणमा सर्वसाधारणलाई कुनै क्षति नभएको अमेरिकाले जनाएको छ। अमेरिकाको केन्द्रीय कमाण्डले जारी गरेको वक्तव्यमा निसानामै आक्रमण भएको र योजनाकार मारिएको दाबी छ । यसैबीच काबुलमा रहेको अमेरिकी दूतावासले सुरक्षा सचेतना जारी गर्दै काबुल विमानस्थलको गेट आसपासमा रहेका आफ्ना नागरिकसहितलाई तत्काल सुरक्षित ठाउँमा जान भनेको छ ।