Aamsanchar

साउदी अरब गएका दुःखी मण्डल पाँच वर्षदेखि सम्पर्कविहीन

Author Image
बुधवार, भदौ १६, २०७८

जनकपुरधाम : वैदेशिक रोजगारका लागि साउदी अरब गएका धनुषाको कमला नगरपालिका–७ सिंग्याही मडानका दुःखी मण्डल पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन भएका छन्। दुःखी आठ वर्षअघि वैदेशिक रोजगारमा गएका थिए। तीन वर्षसम्म फोनमा कुराकानी हुने पैसा पठाउने गर्दै आए पनि त्यसपछि सम्पर्कविहीन भएको उनकी पत्नी विनिता देवी मण्डलले बताइन्। पति सम्पर्कविहीन भएपछि छोराछोरीको शिक्षादीक्षा र घरको समस्या सुल्झाउने विनिताको सपनामा तुषारापात भएको छ।

‘श्रीमानले साउदी अरबबाट कमाएर पठाएको पैसाले ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने र खुशी साथ जीवनयापन गर्ने सोचेको थिएँ‚’ उनले भनिन्‚ ‘सुरु सुरुमा सबै राम्रो नै थियो। कुनै महिना १० हजार त कहिले २० हजार रुपैयाँ पठाउँदै हुनुहुन्थ्यो। तर, तीन वर्षपछि उहाँ हराउनुभयो। सम्पर्कविहीन भएको नै पाँचबर्ष लाग्यो।’

दुःखी विदेश जाँदा जेठो छोरा अमरेश १३ वर्ष र कान्छो छोरा कृष्णा सात वर्षका थिए। छोराको पालनपोषण र शिक्षा दिनका लागि समस्या भएकाले ऋण काढेर विदेश गएको ३७ वर्षीया विनिता बताउँछिन्। ‘त्यसबेला २ लाख ऋण लिएर उहाँ विदेश जानुभएको थियो‚’ उनले भनिन्‚ ‘अहिले उहाँ कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? सम्पर्क नभएको पाँच वर्ष बित्न लाग्यो। कसरी खोजुँ कहाँ खोजुँ?’

विनिताले थाहा पाएसम्म दुःखी साउदी अरबमा उँट र बाख्राको रेखदेखमा गएका थिए। मोबाइल फोन नभएकाले उनलाई कपिल (साहु)को फोनबाट घरमा सम्पर्क र्ने गरेको उनले बताइन्। विनिताले अन्तिम पटक दुःखीसँग पाँच वर्षअघि) साहु कै मोबाइलमा कुरा हुँदा घर आउनुस् भनेकी थिइन्। लामो समयसम्म पतिसँग सम्पर्क नभएपछि साहुको फोन नम्बरमा फोन गर्दा साहुले दुःखी नेपाल फर्किसकेको बताएको विननिताले बताइन्।

त्यसको एक महिनासम्म पनि पति घर आइनपुगेपछि साहुको नम्बरमा पटक–पटक फोन गरेको तर सम्पर्क नभएको विनिता बताउँछिन्। कान्छो छोरा कृष्णाले वुवा साउदी अरबको अनोहोरा नामक कम्पनीमा गएको थाहा पाएको बताए। त्योबाहेक अरु केही थाहा नभएको उनको भनाइ छ।

यता दुःखी विदेश जाँदा लिएको ऋण पनि चुक्ता नभएको हुँदा साँवा–व्याजका लागि साहुले ताकेता गरेपछि विनिता तनावमा परिन्। ऋण तिर्न थप ऋण लिएर उनले जेठा छोरा अमरेशलाई दुई वर्षअघि दुबई पठाइन्। तर, अमरेश दुबई गएको केहि दिन मै कोरोना महामारीले दुवई पनि लकडाउन भयो।

‘लकडाउन भएर खाली बसेको छोराले बल्ल केही महिना दिनअघि काम पाएको छ’, उनले भनिन्, ‘यता म ऋणको भारीले थिचिएको छु। अर्कोतर्फ श्रीमानको अवस्थाले चिन्तामा डुबेकी छु।’ दुःखी विदेश गएको बारे घरमा कुनै कागजात छैन। ‘केही कागजात भएको भए कुरा बुझ्न सकिन्थ्यो‚’ विनिता भन्छिन्, ‘मेरो श्रीमानको खोजी गरिदिन म सबैसँग आग्रह गर्दछु।’ उनले सबै सरोकारवालालाई श्रीमानको अवस्था पत्ता लगाई दिन अनुरोध गरेकी छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर