Aamsanchar

इजरायलमा तालिम तथा अध्ययनका लागि गएका १० जना नेपाली सम्पर्क विहीन, कारबाहीको चेतावनी

Author Image
बिहिवार, भदौ १७, २०७८

काठमाण्डौ – इजरायलमा तालिम तथा अध्ययनका लागि गएका १० जना नेपाली सम्पर्क विहीन भएका छन् । नेपालको साना किसान विकास बैंकबाट छनौट भई ११ महिने तालिम तथा अध्ययनका लागि इजरायल गएका १० जना हराएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

सेडोट नेगेभ एग्रिकल्चर ट्रेनिङ सेन्टरबाट ४ जना, द एक्सट्रनल स्टडिज इन्टिच्युटबाट २ जना, एक कलेजबाट २ जना र अराभ इन्टरनेशनल सेन्टर फर एग्रिकलचर ट्रेनिङ सेन्टरबाट २ जना गरी जम्मा १० जना सम्पर्क विहीन भएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

तालिम तथा अध्ययनका लागि आएका विद्यार्थीहरू यसरी सम्पर्क विहीन भएकोप्रति ध्यानाकर्षण भएको भन्दै दूतावासले देशको प्रतिष्ठालाई समेत ख्याल नगरी व्यक्तिगत स्वार्थ र लाभका लागि गैर कानुनी हिसाबले बस्ने नगर्न आग्रह गरेको छ । ‘दुई चार जनाको बदमासीले गर्दा वार्षिक पाँच सय जनाको ढोका बन्द गरिनु अपराध हो, दूतावासले यो सङ्ख्यालाई बढाएर वार्षिक एक हजार पु¥याउने प्रयास भइरहेको समयमा यस्ता गतिविधिको कारणले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने देखिन्छ,’ दूतावासले भनेको छ ।

विद्यार्थी बाहेक रोजगारीको सिलसिलामा इजरायल पुगेकाहरू मध्ये केही सम्पर्क विहीन भएको भन्दै दूतावासले सचेत हुन भनेको छ । सम्पर्क विहीन भएकाहरूको खोजी भइरहेको पनि दूतावासले जनाएको छ । सम्पर्क विहीन भएका केहीको जानकारी पनि दूतावासले पत्ता लगाइसकेको छ ।

यसरी सम्पर्क विहीन भएर काम गरेकाहरूलाई प्रहरीको सहयोगमा पक्राउ गरी जतिसक्दो छिटो नेपाल पठाउन समन्वय भइरहेको दूतावासले जनाएको छ । सम्पर्क विहीन भएर काम गरिरहेकाहरुलाई दूतावासले यथा सक्दो छिटो सम्पर्कमा आउन आग्रह गरेको छ । सम्पर्कमा नआउनेहरूलाई कारबाहीको प्रक्रिया अघि बढाउने दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर