Aamsanchar

कांग्रेस महाधिवेशन :सिटौलाको गृह नगरमा ७ जना सभापतिको दाबेदार, वडा सभापतिमा पनि आकाङ्क्षी धेरै

Author Image
शुक्रवार, भदौ १८, २०७८

झापा-नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृह नगर भद्रपुरमा चुनावी माहौल तातिएको छ । कांग्रेस केन्द्रीय समितिले देशव्यापी रुपमा भदौ १८ गतेदेखि वडा स्तरबाट महाधिवेशन सुरु गर्ने कार्य तालिका सार्वजनिक गरी सकेको छ ।

महाधिवेशनको मिति नजिकिएसँगै नेता सिटौलाको गृह नगरमा क्रियाशील कार्यकर्ता र नेताहरु आफ्ना नजिकका मान्छेलाई वडा, नगर र क्षेत्रीय सभापति बनाउन कम्मर कसेर लागि परेका छन् । अहिले नगरका १० वटै वडामा दैनिक जसो कार्यकर्ता र नेताबिच बहस, छलफल र बैठकले निरन्तरता पाएको छ । सिटौलाको गृह नगरमा उनकै पक्षका कार्यकर्ताको बलियो पकड छ । देउवा, पौडेल, कोइराला गुटका कार्यकर्ताको सङ्ख्या अत्यन्तै न्यून छ । नेता सिटौलाले जसको टाउको हात राख्छन्, त्यही कार्यकर्ता वडा, नगर र क्षेत्रीय सभापति बन्ने निश्चित छ । विगतका महाधिवेशनहरूमा पनि त्यही देखिएको थियो ।

त्यसैले आकाङ्क्षी उम्मेदवारले आफ्नो कुरा नेता सिटौलासम्म पुर्‍याउन उनीनिकट नेताहरूलाई फकाउन खोजिरहेका छन् । नगरका १० वटा वडामा वडा सभापति र नगर सभापतिमा चर्चा रहेका आकाङ्क्षी उम्मेदवारहरू अधिकांश सिटौला पक्षकै देखिएका छन् । क्रियाशील सदस्यबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेले मात्र नगर, क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रीय सभापतिलाई मतदान गर्ने पाउने व्यवस्था केन्द्रीय समितिले जनाएको छ । क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुने व्यक्तिले मात्र यस वर्षदेखि नगर, क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रमा उम्मेदवारी दिने पाउने छन् । भद्रपुरमा २ हजार २९३ जना क्रियाशील सदस्य रहेका छन् । त्यसबाट क्षेत्रीय प्रतिनिधिमा २३० बढी चयन हुने छन् ।

नगर सभापतिमा ७ जनाको दाबी

भद्रपुर नगर सभापति ७ जनाको नाम चर्चा छ । त्यसमध्ये ६ जना सिटौला, एक जना देउवा पक्षका रहेका छन् । आकाङ्क्षीका दाबी अनुसार नगरमा निर्विरोध सभापति चयनको सम्भावना निक्कै कम देखिएको छ ।
त्यसैले नगर सभापतिका लागि आकांशी देखिएकाहरू अहिले सक्रिय सदस्यलाई क्षेत्रीय प्रतिनिधि बनाएर मत बटुल्न दौडधुपमा लागि परेका छन् । उनीहरू वडा÷वडाका पुगेर आफ्नो पक्षका कार्यकर्तालाई क्षेत्रीय प्रतिनिधि अर्थात् मतदाता बनाउन बैठक तथा छलफल गरिरहेका छन् ।

नगर सभापतिमा १ नम्बर वडाका मनप्रसाद कोइराला, २ नम्बर वडाका राम कँडेल, ४ नम्बर वडाका मदन बस्नेत, ५ नम्बर वडाका बन्धु कार्की, ७ नम्बर वडाका भरत प्रसाईँ, ८ नम्बर वडाका तोयानाथ गड्तौला र १० नम्बर वडाका ज्ञानु चौहान आकाङ्क्षी देखिएका छन् । कोइराला, कँडेल, बस्नेत, कार्की, प्रसाईँ, चौहान नेता सिटौला पक्षका हुन । गड्तौला मात्र देउवा पक्षका हुन् ।

नगर सभापतिका आकाङ्क्षी कोइराला हाल नगरका सह–सभापति हुन । २०४६ सालदेखि पार्टीमा आबद्ध भएका कोइराला साबिक पृथ्वीनगर गाविसका क्षेत्रका एकदम सक्रिय कार्यकर्ता भनेर चिनिन्छ । साबिक पृथ्वीनगर गाउँ समितिका पार्टी सदस्य हुँदै तीन कार्यकाल पार्टी सभापति भइसकेका छन् ।

तरुण दलका गाउँ सभापति हुनुका साथै उनी जिल्ला सदस्य समेत भइसकेका छन् । पार्टी सङ्गठनलाई नगरमा विस्तारसँगै एक ढिक्का बनाउने उद्देश्यले उनले नगर सभापतिमा दाबी गरेका छन् । ‘व्यक्तिगत स्वार्थ भन्दा पनि पार्टीलाई मजबुत बनाएर आउँदो निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्ने सबै जनप्रतिनिधिलाई विजयी गराउने मेरो लक्ष्य हो,’ उनले भने ।

नगर सभापतिका लागि कँडेल पनि साबिक पृथ्वीनगर गाविसबाटै आकाङ्क्षी उम्मेदवार हुन् । नगर सभापतिका आकांशी कँडेल २०५४ सालदेखि कांग्रेसमा आबद्ध भई हालसम्म सक्रिय रहेका छन् । विद्यार्थीकलादेखि पार्टीमा प्रवेश गरेका उनी वडा सचिव, वडा सभापति, साबिक पृथ्वीनगर गाविसका पार्टी सचिव हुँदै हाल नगरका सचिव हुन् ।

‘व्यक्तिगत स्वार्थ भन्दा पनि पार्टीलाई स्थानीय तहदेखि केन्द्रसम्म मजबुत बनाएर लैजाने मेरो लक्ष्य हो,’ कँडेलले भने, ‘नगर सभापतिमा भएपछि स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनाउने लक्ष्य बोकेर अघि बढ्ने छु ।’ पार्टी गुट भन्दा पनि काँग्रेस पार्टीलाई एक ढिक्का बनाउने योजना रहेको उनको भनाई छ । त्यस्तै सभापतिका दाबेदार बस्नेत साबिक महेशपुर गाविसबाट एक्लो आकाङ्क्षी उम्मेदवार हुन । २०५२ सालमा पार्टीमा प्रवेश गरेका बस्नेत नेवि सङ्घ सभापतिको जिम्मेवारी निर्वाह गर्दै साबिक महेशपुर गाविसका पार्टी सभापति भए । हाल महाधिवेशन प्रतिनिधि रहेका बस्नेत अघिल्लो पटकको महाधिवेशनमा पनि नगर सभापतिका दाबी गरेका थिए । तर, पार्टीलाई सहमतिका साथ एक ढिक्का बनाएर अघि बढाएर लैजाने सोच राख्दै त्यस बेला उनी आफ्नो दाबीबाट पछि हटेका थिए । पार्टीभित्रको गुट र मत विभेद अन्त्य गर्न मैले सभापति दाबी गरेको उनले बताए । ‘पार्टी सुद्धिढकरण र सांगठानिक संरचना बलियो बनाएर लैजाने लक्ष्य हो, उनले भने, ‘अबको नेतृत्व युवा वर्गले हाँक्नु पर्छ, अनि मात्र देशव्यापी रुपमा पार्टी बलियो हुन्छ ।’

त्यस्तै सभापतिका आकाङ्क्षी कार्की हाल ५ नम्बर वडाका वडा अध्यक्ष हुन । २०६२÷०६३ को दोस्रो जनआन्दोलनको क्रममा कांग्रेसमा प्रवेश गरेका कार्की साबिक भद्रपुर वडा नम्बर ३ का वडा सभापति भएर तीन कार्यकाल निर्वाह गरिसकेका छन् । समायोजन पश्चात् ५ नम्बर वडा भएपछि उनी वडाका उपसभापति भए । त्यसपछि २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा विजयी भए । पार्टीलाई वैचारिक सिद्धान्तका साथ अघि बढाउन मैले नगर सभापतिको दाबी गरेको बताउँदै उनले भने, ‘व्यक्तिगत स्वार्थ भन्दा पनि एक व्यक्ति एक पदमा हुनुपर्ने मेरो नारा हो, सोही नारा बमोजिम अघि बढे स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टीको जित निश्चित छ । ‘अहिलेसम्म स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्था कमजोर देखिएको छ,’ उनले भने, ‘नगर सभापति भएमा पार्टीलाई बलियो बनाएर स्थानीय तहको निर्वाचनमा सबै पदाधिकारीलाई विजयी गराउने छौँ ।’

नगर सभापतिका आकाङ्क्षी प्रसाईँ २०४९ सालदेखि कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई हाल पार्टीमा सक्रिय छन् । मेची बहुमुखी क्याम्पस नेवि सङ्घ इकाई समिति सचिव हुँदै दोस्रो जनआन्दोलन क्रममा अग्र मोर्चामा रहेर काठमाडौँमा विरोध प्रदर्शन गर्दै केही दिन हिरासतमा बसेका थिए ।

त्यसपछि उनी झापा आएर क्षेत्रीय समितिमा सक्रिय कार्यकर्ताको भूमिका निर्वाह गर्दै हाल कांग्रेसका प्रशिक्षण, प्रतिष्ठान जिल्ला सचिव हुन् । ‘नगरमा पार्टी सुदृढ गर्दै वैचारिक धरातल बमोजिम सङ्गठनलाई बलियो बनाउन मेरो सभापतिको दाबी हो, उनले भने । ‘पार्टीभित्रको गुटको पछि लाग्नु भन्दा पनि नगरका नेता सिटौला भएकोले हामी उहाँसँगै छौँ,’ उनले भने, ‘कुनै गुट लाग्नु भन्दा पहिला हामी काँग्रेस कार्यकर्ता हौँ भनेर चिनिनु पर्छ ।’
सभापतिका आकाङ्क्षी गड्तौला पञ्चातकालदेखि मेची बहुमुखी क्याम्पसको नेवि सङ्घमा आबद्ध भई हाल कांग्रेसका जिल्ला सदस्य हुन् । उनी वडा सभापति, क्षेत्रीय सदस्य हुँदै दुई कार्यकाल जिल्ला सदस्य भइसकेका छन् ।
अब जिल्ला भन्दा पनि नगरमा काम गर्ने सोचका साथ उनले पनि नगर सभापतिमा दाबी राखेको चर्चा छ ।
त्यसैगरी नगर सभापतिका आकाङ्क्षी चौहान हाल नगरका उपसभापति हुन् । २०४६ सालदेखि काँग्रेसनिकट नेवि सङ्घ कानुनतर्फ प्रेसिडेन्टको जिम्मेवारी पूरा गरी २०६७ सालमा साबिक चन्द्रगढी गाविस पार्टी उपसभापति हुँदै समायोजनपछि १३ औं महाधिवेशनबाट नगरका उपसभापति भएका हुन । ‘देशकै पुरानो पार्टी भएकोले काँग्रेसको संरक्षणसँगै सुदृढीकरण अहिलेको आवश्यकता हो,’ उनले भने, ‘आम कार्यकर्ता माझ त्यसलाई पुर्‍याउन मैले सभापतिको दाबी गरेको हुँ ।’ पार्टीभित्र देखिएका गुट तथा विकृति विसङ्गतिलाई पाखा लगाउँदै बलियो कांग्रेस बनाउनु पर्ने बताउँदै उनले भने, ‘पार्टीलाई एउटै छत्रछायामा ल्याउनुपर्ने युवा कार्यकर्ताको माग अनुसार अघि बढ्ने छु ।’

यस्तो छ वडा सभापतिको आकाङ्क्षी

नगरको १० वटा वडामा वडा सभापतिको आकाङ्क्षी धेरै देखिएको छ । एक÷दुई वटा वडा बाहेक अन्य वडाहरूमा सभापतिको निर्वाचन हुने अवस्थामा देखिएको छ । वडा नम्बर ४ मा मात्र अहिलेसम्म एक जना वडा सभापतिको आकाङ्क्षी देखिएको छ । ४ मा साहुराम आङदेम्वेलाई वडा स्तरीयमै कार्यकर्ताको छलफलबाट सभापति बनाउने निर्णय गरिसकेको छ । अन्य वडाहरूमा निर्विरोध सभापति चयनका छलफल र बैठक चलिरहेको छ । १ नम्बर वडामा दधिराम मिश्र, मनकुमार लिम्बु, कृष्ण तामाङको नाम वडा सभापतिको चर्चामा छ । मिश्र पुनः सभापति दोहोराउने मनसाय देखिएका छन् । २ नम्बरमा चन्द्रकुमार गिरी ९राजु०को नाम मात्र अहिले सम्म चर्चामा देखिएको छ ।

गिरी पुनः वडा सभापति दोहोराउने भएका छन् । ३ नम्बर वडामा धिरेन राजवंशी र शमशेर मोक्तानको नाममा चर्चामा छ । राजवंशी पुनः वडा सभापति दोहोराउने मनसायमा देखिएका छन् । ५ नम्बर वडामा रमेशचन्द्र झा, हरि बस्नेत, अनिता रिजाल, इन्द्र नेपाल, टोपराज खतिवडाको नाम चर्चामा छ । झा पुनः वडा सभापति दोहोराउने मनसायमा देखिएका छन्, भने वडा सचिव बस्नेत सभापति बन्ने कसरत गरिरहेका छन् । ६ नम्बर वडामा गोविन्द भण्डारी र मोहतलाल राजवंशीको नाम चर्चामा छ । ७ नम्बर वडामा उत्तम कोइराला र आशिष् कोइरालाको नाम चर्चामा छ ।

उत्तम पुनः वडा सभापति बन्ने मनसायमा देखिएका छन् । ८ नम्बर वडामा रत्नप्रसाद खतिवडाको नाम मात्र चर्चामा छ । वडास्तरीय छलफलबाट निर्णय नभए पनि खतिवडा पुनः वडा सभापति दोहोराउने मनसायमा देखिएका छन् । ९ नम्बर वडामा गोपाल श्रेष्ठ र चेतनाथ भट्टराईको नाम चर्चामा छ । श्रेष्ठ पुनः वडा सभापति दोहोराउने मनसायमा देखिएका छन् । १० नम्बर वडामा विष्णु काफ्ले, मोहन न्यौपाने, मदन सुब्बा र सोम ढुङ्गेलको नाम चर्चामा छ ।

-पुर्वान्चलदैनिकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर