Aamsanchar

भारतीय मरेको माछाको खपत घटाउन झापामा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा

Author Image
बिहिवार, असोज २१, २०७८


चारपाने । झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् । गाभुर एग्रो फार्म प्रालि मार्फत उनीहरुले बिहीबार घटस्थापनको शुभसाइतमा माछा बिक्री केन्द्रहरु उद्घाटन गरेका छन् ।

स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक अग्र्यानिक जिउँदो ताजा माछा बिक्री केन्द्र बिर्ताबजारमा उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले उद्घाटन गरेका हुन् । फर्मालिन प्रयोग गरेर हप्तौंपछि नेपाल भित्र्याइएका भारतीय मरेको माछाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर किसिमका रोग लाग्न थालेको उपभोक्ताको गुनासो छ । उपभोक्ताको गुनासो तथा जिल्लाका माछा पालक किसानको उत्पादनलाई बजारीकरणमा सहयोग गर्नेगरी जिउँदो माछा बिक्री केन्द्रहरु सञ्चालनमा ल्याएको गाभुर एग्रो फार्मका अध्यक्ष अर्जुन राजवंशीले बताए ।

गाभुर एग्रोले मेचीनगर नगरपालिकाको का“कडभिट्टा, इटाभट्टा र धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिकाभित्र बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्याँलडाँगीमा केन्द्रहरु सञ्चालनमा ल्याएको हो । ११ वटै केन्द्रको एकमुष्ठ उद्घाटन बिहीबार बिर्ताबजार बिक्री केन्द्रमार्फत गरिएको हो ।

सरसफाईमा विशेष ध्यान दिदै उपभोक्तालाई अग्र्यानिक ताजा माछा खुवाउने व्यवस्थित बिक्री केन्द्र सञ्चालनमा ल्याएको गाभुर एग्रोका प्रबन्धक अभय राजवंशीले बताए । बिक्री केन्द्रमा पंघास, रहुँ, कमन कार्प, बिग हेड, पम्प्लेट, नैनीलगायतका माछा राखिएका छन् । माछालाई जिउँदो राख्नका लागि बिक्री केन्द्रमा सिसाका एक्यूरेम बनाई अक्सिजन दिने व्यवस्था गरिएको छ ।

जिल्लामा माछा पालक किसानको संख्या दैनिक बढ्दै गएपनि उत्पादन भएको माछाले बजार नपाउने समस्या बढेकोप्रति वाणिज्य महासंघका प्रदेश अध्यक्ष ढकालले चिन्ता व्यक्त गरे । उनले कृषि कर्मबाट किसानलाई पलायन हुनबाट रोक्ने नीति र सहुलियत दिने कार्यक्रमहरु ल्याउन सरकार समक्ष आग्रह समेत गरे । स्वास्थ्यको लागि माछा बहुउपयोगी भएकाले विषादीयुक्त फर्मालिन प्रयोग गरेको मरेको भारतीय माछाको सट्टा स्थानीय किसानले उत्पादन गरेका जिउँदो ताजा माछा खाने बानी बसाल्न ढकालले आग्रह गरे ।

पाँच जनाको उक्त टिमले सर्वोत्तम एग्रो सप्लायर्स प्रालि नामक् अर्को एउटा कम्पनी समेत स्थापना गरी माछाको दाना बिक्री गर्दै आएको छ । भारतीय कम्पनी ग्रोवेल फिड्सको ग्रोवेल नामक् माछाको दाना बिक्री गर्दै आएको सञ्चालक प्रमोद राजवंशीले बताए । उनले बडा दशैं पछि जिउँदो माछा बिक्री केन्द्रहरु थप बिस्तार गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर