Aamsanchar

बाढीका कारण चीनमा २० लाख मानिस विस्थापित

Author Image
सोमवार, असोज २५, २०७८

शान्सी- चीनको शान्सी प्रान्तमा बाढीका कारण झण्डै २० लाख मानिस विस्थापित भएका छन् । स्थानीय सञ्चार माध्यम अनुसार चीनको उत्तरी शान्सी प्रान्तमा १७ लाख ६० हजार भन्दा बढी मानिस बाढीबाट प्रभावित भएको बीबीसीले जनाएको छ । गत साताको मुसलधारे वर्षाले सो प्रान्तका ७० भन्दा बढी जिल्ला र सहरहरूमा घरहरू भत्किएका थिए भने पहिरो गएको थियो । शान्सी प्रान्तमा १७ हजार घरहरू भत्किएका छन् । अधिकारीहरूले सिन्ह्वा समाचार संस्थालाई बताए अनुसार १ लाख २० हजारभन्दा बढी मानिसलाई तत्काल स्थानान्तरण र पुनर्बास गराइएको छ ।

सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार पहिरोमा परी चारजना प्रहरी अधिकारीको मृत्यु भएको छ । यद्यपि, अन्य हताहती भएका सूचनाको बारेमा भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
 शान्सीको बाढी यो वर्षको सुरुतिर हेनानमा आएको बाढीभन्दा पनि खराब हुन सक्ने बताइएको छ । हेनानको बाढीले तीन सयभन्दा बढीको ज्यान लिएको थियो ।
 भारी वर्षाले उद्धार प्रयासहरूलाई अवरोध गरिरहेको अधिकारीहरूले बताएका छन् । चीनको मौसम विज्ञान प्रशासनले लामो समयसम्मको भारी वर्षा र हुरी बतासले उद्धार प्रसायहरूलाई अवरोध गरिरहेको स्थानीय सञ्चार माध्यमलाई बताएका छन् ।

शान्सी प्रान्तको राजधानी ताइयूएनमा गत हप्ता औसतमा १८५।६ मिमिमिटर पानी परेको थियो जबकी १९८१ देखि २०२१ सम्म अक्टोबरमा २५ मिलिमिटर पानी परेको थियो । ताइयूएनमा उद्धारकर्ताले मेगाफोनको प्रयोग गरी बालबच्चालाई काँधमाथि राख्न, ज्येष्ठ नागरिक र महिलाहरूलाई प्राथमिकता दिन आग्रह गरेका छन् । “भयभित नहुनुहोस्, प्रत्येकको उद्धार हुनेछ”, उद्धारकर्ताहरूको आग्रह छ । शान्सी चीनको कोइला उत्पादन गर्ने एक प्रमुख प्रान्त हो । वर्षाको कारण चीन सरकारले खानी र केमिकल फ्याक्ट्रीहरू सञ्चालनमा रोक लगाउन बाध्य भएको छ ।चीनले पहिलेदेखि नै उर्जा अभाव खेपिरहेको छ जसले गर्दा विद्युत् कटौती भएको छ । सरकारले बन्दरगाह र कारखानाहरूमा बिजुलीको उपयोग सीमित गरिरहेको छ । स्थानीय सरकारले ६० कोइला खानी, ३७२ गैर कोइला खानी र १४ ओटा खतरनाक केमिकल फ्याक्ट्रहरूलाई निलम्बन गरेको बताएको छ । अन्य २७ कोइला खानीलाई एक हप्ता अघि नै सञ्चालन गर्न बन्द गरिदिएको थियो । शान्सी थुप्रै प्राचीन स्मारकहरूको घर पनि हो जुन भारी वर्षाको कारण जोखिममा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर