Aamsanchar

कतार सरकारद्वारा आममाफी योजना सार्वजनिक

Author Image
बुधवार, कार्तिक ३, २०७८

रोजगार भिसामा कतार गएर विभिन्न कारणले कतारी आईडी प्राप्त नगरेका वा नवीकरण हुन नसकी अवैध रूपमा बसिरहेका नेपालीसहित विदेशी श्रमिकका लागि आममाफीको योजना ल्याइएको छ । कतारको आन्तरिक मामिला मन्त्रालयले कागजातविहीन विदेशी श्रमिकका लागि स्वदेश फर्कने वा रोजगारी नियमित गर्न सक्ने दुई विकल्प दिएर आममाफीको घोषणा गरेको हो ।

विभिन्न कारणले लामो समयदेखि बिना कागजात काम गरिरहेका श्रमिकलाई कुनै रोजगारदाता कम्पनीबाट ‘जब अफर लेटर’ लिई आवश्यक कागजातसहित तोकिएका सेवा केन्द्रबाट वैधानिक हुनसक्ने जनाइएको त्यहाँस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रविन भट्टराईले जानकारी दिएका छन् । यसका लागि कतार सरकारले तोकेका पाँचवटा सेवा केन्द्रमा गएर हालसम्मको जरिवाना छुट तथा मिनाहा गरी कम्पनीमा रोजगारीका लागि कागजात नियमित गर्न सक्ने जनाइएको छ । यसका लागि उम्म सलाल सर्भिस सेन्टर, उम्मसुनाइम सर्भिस सेन्टर ९इन्डस्ट्रियल एरिया०, मेसाइमिर सर्भिस सेन्टर, अल बाका सर्भिस सेन्टर र जल रैवान सर्भिस सेन्टरबाट सेवा लिन सकिने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

रोजगारी सुनिश्चित नभएकाको हकमा स्वदेश फिर्ता सहजीकरणका लागि सर्च एन्ड फलो अफ डिपार्टमेन्ट ९एसएफडी० मा रहेको काउन्टरमा नेपाल फर्कने टिकटको बुकिङ लिएर गएमा दण्ड जरिवाना छुट तथा मिनाहा गरी स्वेदश फर्कन दिइने उल्लेख छ ।

यसैगरी जुनसुकै प्रकारका भ्रमण भिसामा कतार आएका तर भिसाको म्याद समाप्त भई कतार बसाइ अवैध भएकाको हकमा समेत नेपाल फर्कने टिकटको बुकिङ लिएर एसएफडीमा उपस्थित भएमा हालसम्मको दण्ड जरिवाना छुट तथा मिनाहा गरी स्वदेश फर्कन दिइने कतारस्थित नेपाली दूतावासले जनाएको छ । आप्रवासी आगमन र प्रस्थान तथा उनीहरूको आवास नियमन गर्ने सन् २०१५ को कानुन नम्बर २१ उल्लंघन गरेका अवैध आप्रवासीको कानुनी हैसियत संशोधन गरी नियमित गर्ने सम्बन्धी कतार सरकारले ७ अक्टोवर २०२१ मा जारी गरेको थियो ।

विविध कारणले उल्लेखित कानुनको उल्लंघन भई कतारमा कानुनी हैसियत गुमाएका नेपाली नागरिकले २०७८ असोज २४ देखि पुस १६ गतेसम्म घोषणामा उल्लेखित विभाग तथा सेवा केन्द्रमा गई आफ्नो कानुनी हैसियत नियमित गर्नसक्ने कतारको अन्तरिक मन्त्रालयले जनाएको छ । यसरी कानुनी हैसियत नियमित गर्ने क्रममा तोकिएको शुल्कमा छुट वा मिनाहा दिइने बेहोरासमेत संलग्न घोषणामा उल्लेख गरिएको छ ।
सो कानुन उल्लंघन गरेका सबै आप्रवासी श्रमिक, रोजगारदाता तथा प्रायोजकलाई सर्च एन्ड फलोअप डिपार्टमेन्ट सेन्टरमा समाधानको आवेदन पेस गरी संशोधनको रकम वा माफीको सुविधा लिन सकिन्छ ।

कानुनी हैसियत संशोधनका लागि आवास नियम उल्लंघन गरेका आप्रवासी, कार्य भिसा नियम उल्लंघन गरेको आप्रवासी, पारिवारिक भ्रमणसम्बन्धी नियम उल्लंघन गरेका विदेशीले लाभ लिन सक्ने जनाइएको छ । वैदेशिक रोजगारीका लागि कतार दोस्रो श्रम गन्तव्य भए पनि त्यहाँ कति नेपाली अवैध रहेको भन्नेबारे दूतावासले तथ्यांक भने सार्वजनिक गरेको छैन । गोपाल संग्रौलाले कारोवार दैनिकमा लेखेको समाचारलाई साभार गरिएको ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर