Aamsanchar

प्रदेश १ : बाढी र हावाहुरीले ५० हजार हेक्टरको धानबालीमा क्षति

Author Image
बिहिवार, कार्तिक ४, २०७८

विराटनगर — बेमौसमी वर्षासँगै आएको बाढी र हावाहुरीले प्रदेश १ मा करिब ५० हजार हेक्टरमा पाकेको धानबालीमा क्षति पुर्‍याएको प्रारम्भिक आँकलन गरिएको छ । क्षतिको विवरण अझै बढ्न सक्ने प्रदेश कृषि मन्त्रालयको भनाइ छ । प्रदेश १ का १४ जिल्लामा यो वर्ष ३ लाख ३६ हजार हेक्टरमा धान खोती गरिएको थियो । त्यसमध्ये प्रारम्भिक रुपमा ५० हजार हेक्टर अर्थात करिब १५ प्रतिशत धानबालीमा पानी र हावाहुरीले क्षति पुर्‍याएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए ।

उनका अनुसार बढीमा पाँच प्रतिशत मात्र धान कटाई भएकाले क्षति न्यून भएको हो । उनका अनुसार काटेर लडाएको धान सबै नष्ट भएको र काट्न बाँकी रहेको धान लडेर पानीमा डुब्दा बढीमा २५ प्रतिशत मात्र क्षति हुने स्थिती छ । क्षति पुगेको १५ प्रतिशत मध्ये करिब तीन प्रतिशत पूर्ण रुपमा क्षति भएको उप्रेतीले बताए ।

मोरङमा यो वर्ष ८३ हजार ३ सय हेक्टरमा धान रोपिएको थियो । तीमध्ये १२ प्रतिशत अर्थात ९ हजार ८ सय ९६ हेक्टरको धानमा क्षति पुगेको प्रदेश १ कृषि निर्देशनालयकी सूचना अधिकारी सरस्वती श्रेष्ठले बताइन् । उनका अनुसार सुनसरीको ५३ हजार हेक्टर मध्ये ९ हजार ७ सय हेक्टर र झापामा ८७ हजार ५ सय हेक्टर मध्ये १३ हजार १ सय २५ हेक्टरको धानलाई हावाहुरी र बाढीले क्षति पुर्‍याएको छ ।

प्रदेश १ का अन्य जिल्ला ताप्लेजुङमा ८ हजार ७ सय ३७, संखुवासभामा १३ हजार ८ सय ५१, सोलुखम्बुमा १ हजार ५ सय २५, पाँचथरमा ९ हजार २ सय, इलाममा १४ हजार ८ सय १५, भोजपुरमा १८ हजार, तेह्रथुममा १० हजार १ सय ७५, धनकुटामा ७ हजार ९ सय ५०, उदयपुरमा १३ हजार ३ सय, ओखलढुंगामा ४ हजार ४ सय र खोटाङमा १२ हजार ८ सय ९३ हेक्टरमा बर्खे धान रोपाइँ भएको छ ।

प्रदेश १ मा गतवर्ष १३ लाख टन धान उत्पादन भएको थियो । यसपालि १४ लाख टन भन्दाबढी धान उत्पादन हुने निर्देशनालयको लक्ष्य थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर