Aamsanchar

घट्ने भयो मोबाइल कलको शुल्क

Author Image
बुधवार, मंसिर ८, २०७८

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्ने कार्यविधि कार्यान्वयनका लागि निर्देशन दिएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको प्राधिकरणको कात्तिक २९ गते बसेको बोर्ड बैठकले सेवाप्रदायकलाई हाल लिँदै आएको शुल्कको तुलनामा ४४ पैसा सस्तो बनाउने गरी तयार पारिएको ‘अन्तरआवद्धता निर्देशिका २०७६’ माघ १ गतेबाट कार्यान्वयन ल्याउन निर्देशन दिने निर्णय गरेको हो।

यसअघि प्राधिकरणले २०७६ पुस महिनामा अन्तरआवद्धता निर्देशिका २०७६ जारी गरेको थियो। यसमा सेवाप्रदायकले हाल आफ्नो नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा ९उदाहरणका लागि एनसेलबाट नेपाल टेलिकमको नम्बरमा कल गर्दा० अन्तरआवद्धता शुल्कबापत प्रति मिनेट ५४ पैसा थप लिँदै आएका छन्।

निर्देशिकाले त्यसमा परिवर्तन गर्दै त्यस्तो शुल्क बढीमा १० पैसा कायम गरेको छ। निर्देशिका लागू भएसँगै नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलमध्ये एउटा सेवाप्रदायक कम्पनीको नम्बरबाट अर्को कम्पनीको नम्बरमा कल गर्दा लाग्दै आएको शुल्क ४४ पैसाले घट्ने छ।

हाल नेपाल टेलिकमको प्रिपेड सिमबाट अन्य नेटवर्कमा कल गर्दा प्रति मिनेट दुई रुपैयाँ लाग्छ भने पोस्टपेडबाट कल गर्दा एक रुपैयाँ ५० पैसा लाग्छ। नयाँ निर्देशिकाअनुसार प्रिपेडबाट प्रति मिनेट एक रुपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा मात्रै लाग्नेछ।

त्यस्तै एनसेलबाट अन्य सेवाप्रदायकको नम्बरमा कल गर्दा हाल प्रति मिनेट कर बाहेक एक रुपैयाँ ९९ पैसा लाग्दै आएको छ। जुन एक रुपैयाँ ५५ पैसामा सीमित हुनेछ। यस्तै स्मार्टसेलबाट एनसेल र नेपाल टेलिकममा कल गर्दा प्रति मिनेट एक रुपैयाँ ४८ पैसामात्रै लाग्नुपर्ने हो। तर हाल स्मार्टबाट अन्य सेवाप्रदायकमा कल गर्दा प्रति मिनेट १ रुपैयाँ ९२ पैसा लाग्दै आएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 580

प्रतिक्रिया (०)

सम्बन्धित खबर