Aamsanchar

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनको अग्रता कायमै

Author Image
आइतवार, मंसिर १९, २०७८

       

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्त्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाममा अध्यक्षका उमेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । 

निर्वाचन समितिका अनुसार दुई हजार ९६४ मत गणना हुँदा लिङ्देनले एक हजार ३७१ मत पाएका छन् । उनका प्रतिस्पर्धी कमल थापाले एक हजार २५४ मत पाएका छन् । ३३९ मत बदर भएको छ ।

राप्रपा अध्यक्षका लागि कागजी मतपत्रमार्फत मतदान सम्पन्न भएको थियो । उपाध्यक्ष, महामन्त्री र सहमहामन्त्री तथा सदस्य पदका लागि विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएको थियो । भोटिङ मेसिनतर्फको मतगणना भने सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष पदको मत परिणाम सार्वजनिक गरेपछि मात्रै अरू पदको परिणाम सार्वजनिक गर्ने तयारी छ ।

ढिलो गरी शनिबार मध्याह्न १२ बजेदेखि सुरु भएको मतदान राति करिब सवा ११ बजे सकिएको थियो ।

कुल चार हजार ४६९ मतदाता रहेकोमा विद्युतीय भोटिङ मेसिनले तीन हजार ८७३ मत खसेको देखाएको निर्वाचन समितिले जनाएको छ ।पार्टीको १९९ सदस्यीय कार्यसमिति बन्नेछ । जसमा अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री र केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । तीन उपाध्यक्ष, तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री र एक कोषाध्यक्ष अध्यक्षले मनोनयन गर्न पाउने विधानमा व्यवस्था छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर