Aamsanchar

डीवाई–२८ धानकाे बाला नलागेर पीडित किसानले आजदेखि क्षतिपूर्ति पाउने

Author Image
आइतवार, पौष १८, २०७८

काठमाण्डाै – धानमा बाला नलागेर पीडित भएका किसानले आजदेखि क्षतिपूर्ति पाउने भएका छन् ।

काठमाण्डौको बूढानीलकण्ठबाट राहत वितरण सुरु हुँदैछ । यसअघि नै राहत रकम वितरण गर्ने भने पनि केही ढिलाइ भएको तर आजदेखि वितरण थालिने बीउ बिजन गुणस्तर केन्द्रले जनाएको छ ।

क्षतिपूर्तिका लागि छुटेकासहित ७ हजार आठ सय रोपनी क्षेत्र किटान भइसकेको र त्यसैअनुसार आजदेखि वितरण थालिने केन्द्रका सूचना अधिकारी प्रकाश आचार्यले बताउनुभयो ।

केन्द्रले डीवाई–२८ जातको धानमा बाला नलागेपछि बीउ आयात गर्ने कम्पनी काष्ठमण्डप ट्रेड पोइन्ट कालीमाटी काठमाण्डौलाई क्षतिपूर्ति वितरण गर्न निर्देशन दिएको छ । क्षतिपूर्ति वितरणमा आनाकानी गरे बीउ बिजन ऐन अनुसार कारबाही हुने पनि केन्द्रले जनाएको छ ।

काठमाण्डौ उपत्यकाका किसानले एग्रोभेटबाट बीउ खरिद गरी रोपेका थिए । तर डीवाई–२८ जातको धानमा यस वर्ष बाला नलागेपछि किसानले क्षतिपूर्तिको माग राख्दै आएका थिए । किसान, पालिकाका जनप्रतिनिधि, बीउ बेच्ने कम्पनीका प्रतिनिधि र बीउ बिजन गुणस्तर केन्द्रबीच यसअघि पुस १५ भित्रै राहत वितरण गर्ने सहमति भएको थियो

प्रतिरोपनी २२ सय ५० रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको थियो ।  काठमाण्डौको बूढानीलकण्ठसहित भक्तपुरको चाँगुनारायण, सूर्यविनायक लगायतका क्षेत्रमा किसानले लगाएको धानमा यसवर्ष बाला लागेको थिएन । बीउ आयात तथा वितरण गर्नेबाट किसानलाई क्षतिपूर्ति दिने व्यवस्था नेपालमा पहिलो पटक कार्यान्वयन भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 313

प्रतिक्रिया (०)

सम्बन्धित खबर