Aamsanchar

ए डिभिजन लिग : आजदेखि नवाैँ चरणका खेल

Author Image
शुक्रवार, पौष ३०, २०७८

काठमाण्डाै – १४ क्लबको सहभागिता रहेको सहिद स्मारक ए डिभिजन लिगमा आज शुक्रवारदेखि नवाैँ चरणका खेल हुँदैछ । आठौँ चरणका खेल सकिएसँगै उपाधि कसले जित्छ भन्नेमा उत्साह भइरहँदा रेलिगेशन क्षेत्रमा रहेका टोली बच्नका लागि सङ्घर्ष गरिरहेका छन् । नवौँ चरणको खेलअघिको पत्रकार सम्मेलनमा सबैजसो क्लबले तीन अङ्कका लागि खेल्ने बताएका छन् ।

आजदेखि नवौँ चरणकाे खेल सुरु हुँदा दिनको पहिलो खेल विभागीय फुटबल क्लब एपीएफ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । विभागीय क्लब एपीएफले विदेशी खेलाडी भित्र्याएसँगै राम्रो नतिजा निकाल्न सफल भइरहेको छ भने हिमालयन शेर्पाले मध्यम प्रदर्शन गर्दै तालिकाको बीचमा रहेको छ ।

यस्तै दोस्रो खेलमा तालिकाको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी फुटबल क्लबले यसै सिजनको नयाँ टोली सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । उपाधि होडलाई बचाइराख्न मनाङ सातदोबाटो युथ क्लबसँग सर्तक रहेर खेल्नेछ । किनभने सातदोबाटो युथ क्लबले बलिया टोलीसँगकाे खेलमा राम्रो नतिजा निकाल्दै अङ्क जोडिरहेको छ । मनाङका प्रशिक्षक तोपे फुजाले क्लब जुन भए पनि आफ्नो टोली तीन अङ्कका लागि खेल्ने बताए ।

यता सातदोबाटो युथ क्लबले पनि राम्रो नतिजाका लागि खेल्ने बताएको छ । शीर्ष डिभिजनमा उक्लिएसँगै तारिफ योग्य प्रदर्शन गरेको सातदोबाटोका प्रशिक्षक सुरज महर्जनले बताए ।

आठौँ चरणको समाप्तिमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको र्शीष स्थानमा रहेको छ । नवौँ चरणको खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ । मच्छिन्द्र फुटबल क्लबले उपाधि उचाल्ने लक्ष्यका साथ खेल्ने बताएकाे छ ।

भाेलि शनिवारको खेलमा भने फ्रेन्ड्सले त्रिभुवन आर्मी फुटबल क्लबसँग तीन अङ्कका लागि खेल्ने जनाएको छ । फ्रेन्ड्स याे लिगमा एक मात्र टोली हो जसले एक खेलमा पनि स्पष्ट तीन अङ्क जोड्न सकेको छैन । यस्तै थ्री स्टार क्लबले सङ्कटा क्लबसँग नवौँ चरणको खेलमा प्रतिस्पर्धा गर्दा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच नवौँ चरणको अन्तिम खेल हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर