Aamsanchar

झापा : भरुवा बन्दुकको नाल र बारुद बनाउने पदार्थसहित २ जना पक्राउ

Author Image
शुक्रवार, माघ २१, २०७८

झापा – सशस्त्र प्रहरीले भरुवा बन्दुकको नाल र बारुद बनाउने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरी टोलीले मेचीनगर नगरपालिका- २ स्थित भृकुटीबाट शुक्रबार साढे ३ बजे बन्दुकको नाल र बारुद बनाउने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तेह्रथुम जिल्ला आठराई गाउँपालिका- ५ बस्ने ६३ वर्षीय तेजमान राई र मेचीनगर नगरपालिका–४ बाहुनडाँगी बस्ने १९ वर्षीय प्रवीण भारती रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेम भण्डारीले जानकारी दिए।

राई सामान धनी हुन् भने भारती ट्याम्पो चालक हुन्। भारतबाट अवैध रूपमा लुकाई छिपाई हातहतियार र बारुदजन्य पदार्थ भित्र्याइएको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले मे १ ह ६०५६ नम्बरको ट्याम्पोलाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो।

ट्याम्पोभित्र ७ थान भरुवा बन्दुकको नाल, साढे ३ केजी गन्धक र ६० केजी बारुद बनाउने सोडा बरामद गरिएको डिएसपी भण्डारीले बताए। बन्दुक नाल र बारुदजन्य पदार्थ भित्र्याउने राई पेसेवर हुन्।

प्रहरीले उनलाई करिब एक वर्षअघि धरानमा समेत पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने जनाइएको छ।

तीन दिनअघि मात्र सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका–७ स्थित गैरी गाउँबाट विस्फोटक पदार्थमा इलेक्ट्रोनिक्स डेटोनेटर ८० थान र नेपो लाइट ९१ थान बरामद गरेको थियो।

उक्त विस्फोटक पदार्थ सशस्त्र प्रहरीले नेपाल–भारतको सीमा पिलर ९०/१ र ९०/२ नम्बरको बीच मेची नदीको बालुवामा गाडिएको अवस्थामा विस्फोटक पदार्थ फेला पारेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 539

प्रतिक्रिया (०)

सम्बन्धित खबर