Aamsanchar

झापा : इँटा उद्योगले ज्यादती गरेको भन्दै स्थानिय आन्दोलित

Author Image
शनिवार, माघ २२, २०७८

झापा – इँटा उद्योगले ज्यादती गरेको भन्दै कचनकवल गाउँपालिकावासी आन्दोलित भएका छन्। कचनकवल–६ बनियानीमा रहेको इँटाभट्टाबाट पीडित भएको भन्दै स्थानीयले निश्चल दाहालको संयोजकत्वमा ११ सदस्य संघर्ष समिति गठन गरेका छन्।

इँटा उद्योगबाट स्थानीयवासी पीडित बनिरहेको विषयमा विभिन्न सञ्चारमाध्यमले पटकपटक समाचार प्रकाशन तथा प्रशारण गरे पनि गाउँपालिका र सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीयले कचनकवल वातावरण संरक्षण तथा संवर्द्धन संघर्ष समिति गठन गरेको हो।

सरकारले धान सुपर जोन घोषणा गरेको कचनकवलमा माछा पोखरीको नाममा मापदण्ड विपरीत जथाभावी खेतीयोग्य जमिनको माटो उत्खनन गर्ने, सोही माटो इँटाभट्टालाई बिक्री वितरण गर्ने, सडकमा जथाभावी ठूला सवारीसाधन कुदाउँदा दुर्घटनाको जोखिम बढेको, इँटाभट्टाबाट निस्किने धुवाँले वायु प्रदूषणसँगै खेतीपातीमा प्रत्यक्ष असर पारिरहेकाले त्यसविरुद्ध संर्घषमा उत्रिनु परेको संर्घष समितिका संयोजक दाहालले बताए।

तीन वर्ग किलोमिटर भन्दा कम क्षेत्रमा ६ वटा इँटाभट्टा सञ्चालन छन्। ती भट्टाहरूले एक सिजनमा करोडौँ इँटा उत्पादन गर्दै आएको छ। एक लाख इँटा चिम्नीमा पोल्दा १८ देखि २५ टनसम्म पत्थर कोइला खपत हुन्छ।

पत्थर जलेर निस्किने कालो धुवाँले स्थानीयवासीलाई असर गरिरहे पनि सरोकारवाला निकाय मौन रहेकाले आन्दोलनमा उत्रिनु परेको दाहाले बताए।

‘भट्टाबाट निस्किने कालो रंगको धुवाँले कति वातावरण प्रदूषण गर्दैछ र त्यसले मानवीय स्वास्थ्यमा कस्तो असरमा पारिरहेको छ? त्यसबारे सरकारी निकाय मौन छ,’ उनले भने, ‘सरकारले दिएको मापदण्ड इँटाभट्टाहरुले कतिको कार्यान्वयनमा ल्याएको छ। त्यसलाई कार्यान्वयनमा ल्याउन हामी संर्घषमा उत्रिएका हौँ।’

समितिका सदस्य राजन घिमिरेले वातावरणीय विनाश गरी गरिएको विकास सह्य नहुने बताए। ‘स्वच्छ र सफा वातावरण बस्ने गाउँवासीको अधिकार हो। त्यसबाट कसैले पनि बञ्चित गराउन पाउँदैन,’ घिमिरेले भने, ‘संघर्षका कार्यक्रम शान्तिपूर्ण हुन्छ। यसलाई निरन्तरता दिँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै जाने हो।’

समितिका सदस्य सोम चम्लागाईंले इँटाभट्टाको ज्यादती अब सहन नसकिने बताए। इँटाभट्टा उद्योगीहरूसँग छलफल र बैठक बसेर उत्पन्न समस्या समाधानका लागि पहल गर्ने र त्यो निष्कर्षमा नपुगे आन्दोलनमा उत्रिने उनले चेतावनी दिए। गाउँपालिकामा ज्योति इँटा भट्टा, स्टार इँटा भट्टा, दुई स्थानमा एसबिआई इँटा भट्टा, चण्डी इँटा भट्टा र प्रेम इँटा भट्टा सञ्चालनमा रहेको छ।

हस्ताक्षर अभियान

कचनकवल वातावरण संरक्षण तथा संवर्द्धन संघर्ष समितिले पहिलो चरणको आन्दोलनको कार्यक्रममा अनुसार हस्ताक्षर अभियान सुरु गरेको छ। बिहीवारदेखि सुरु भएको हस्ताक्षर अभियानमा २०० जनाभन्दा स्थानीयले हस्ताक्षर गरिसकेको संघर्ष समितिका संयोजक निश्चल दाहालले बताए।

हस्ताक्षर अभियान सकिएलगतै कचनकवल गाउँपालिका, जिल्ला प्रशासन कार्यालय झापा, श्रम कार्यालय झापामा बुझाउने कार्यक्रम रहेको समितिका संयोजक अध्यक्ष दाहाले बताए।

जनप्रतिनिधिको ऐक्यबद्धता

इँटाभट्टा उद्योगका कारण वातावरणमा पर्न गएको प्रतिकूल असरविरुद्ध आन्दोलित बनेका संघर्ष समितिको यस अभियानमा झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले सुझावसहित ऐक्यवद्धता जनाएको समितिका संयोजक दाहालले बताए।-थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर