Aamsanchar

नेपालमा ओमिक्रोन विलय हुदै

Author Image
शुक्रवार, माघ २८, २०७८

काठमाडौं । कोरोना संक्रमितको उपचारका केन्द्रित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई हप्ताअघि जनरल, आईसीयू, भेन्टिलेटर, एचडीयुमा गरी २२ जना बिरामी थिए ।

दैनिक रूपमा ६–७ जना भर्ना हुन्थे । तर, हिजोआज बिरामी आउन छाडेका छन् । अहिले अस्पतालको जनरल वार्डमा चार आईसीयूमा एक जना उपचारत छन् ।

टेकु अस्पतालको दृश्यलाई कोरोना महामारीमा नेपालभरको ‘प्रतिबिम्ब’ मान्न सकिन्छ ।

‘एक हप्ता अगाडि आईसीयू र जनरल वार्डमा बिरामीको चाप थियो । तर, अहिले सबै बेडहरु खाली हुँदै गएका छन्,’ अस्पतालका सूचना अधिकारी नवराज गौतम भन्छन् ।

उसो त, दैनिक रुपमा गरिएको नमूना परीक्षणमा पनि संक्रमितको संख्या घट्दै गएको छ । ८ माघमा ५० प्रतिशतभन्दा माथि पुगेको संक्रमणदर हिजोआज १३–१४ प्रतिशतमा झरेको छ । जनस्वास्थ्यविद्हरुका अनुसार नेपालमा तेस्रो लहरको जोखिम टरेको छ ।

जीवाणुविज्ञ डा. सन्तोष दुलाल ओमिक्रोनको पुनः संक्रमण नबढ्ने अनुमान लगाउँछन् । उनी भन्छन्, ‘माघ दोस्रो हप्तासम्ममा धेरै मानिस संक्रमित भइसकेका छन् । तीमध्ये केहीलाई लक्षण देखियो भने धेरैलाई लक्षणरहित संक्रमण भयो ।’

नेपालमा पुस २१ गतेदेखि बढ्न थालेको ओमिक्रोनको संक्रमण माघ दोस्रो सातादेखि घट्न थालेको थियो । तेस्रो लहरको उच्च विन्दुमा पुग्दा परीक्षण गरेका दुईमध्ये एक जनामा संक्रमण देखिएको थियो । तर यसपटक धेरै संक्रमितले परीक्षण नगरेको पाइएको छ । ‘ओमिक्रोन भेरियन्टबाट अधिकांश व्यक्तिहरु संक्रमित भइसकेका छन् । जति संक्रमण पर्नुपर्ने हो तेस्रो लहरको उत्कर्षसम्ममा पारिसकेको छ,’ डा. दुलाल भन्छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेल अब संक्रमणदर ह्वातै उकालो नलाग्ने बताउँछन् । तर, निषेधाज्ञा खुलेसँगै संक्रमितको संख्या बढे पनि धेरै बढ्न नसक्ने उनको अनुमान छ । ‘निषेधाज्ञा खुलेसँगै संक्रमणदर थोरै बढेजस्तो देखिन्छ । तर, त्यो धेरै दिनसम्म रहँदैन । हामी तेस्रो लहरको अन्त्यमा आइपुगेको छौं,’ डा. पौडेलले भने ।

पहिलो र दोस्रो लहरको तुलनामा ओमिक्रोन भेरियन्टका कारण फैलिएको कोरोना महामारीको तेस्रो लहर सामान्य क्षतिमा पार भएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।

सरूवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन संक्रमण फेरि फर्किन नसक्ने अनुमान लगाउँछन् । ‘ओमिक्रोनबाट धेरै संक्रमित भइसकेका छन् । अन्य भेरियन्टको तुलनामा ओमिक्रोनले धेरै मानिसलाई संक्रमण गर्‍यो । अस्पतालको दृश्य, संक्रमणदर तल झर्दै गएकाले अब तेस्रो लहरको जोखिम टरेको भन्न सकिन्छ,’ डा.पुन भन्छन् ।  श्रोत: अनलाइन खबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 593

प्रतिक्रिया (०)