Aamsanchar

झापामा बम राखेर आतंक मच्चाउने कोटी होमका पुजारीसहित ९ जना प्रहरीद्वारा सार्वजनिक

Author Image
बिहिवार, फागुन ५, २०७८

झापा – बम राखेर आतंक मच्चाउने भूमिगत समूह परिषद्का मुख्य योजनाकारसहित ९ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

बिर्तामोड र दमकमा प्रेसर कुकर बम राखेर आतंक मच्चाउने भूमिगत समूह हिमाल सुरक्षा परिषद् नेपालका मुख्य योजनाकारसहित ९ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा मुख्य योजनाकार गौरादह  नगरपालिका- २ का ३८ वर्षीय सुमनकुमार कार्की र वडा नम्बर ५ का ३३ वर्षीय प्रदीप थापा,  कनकाई नगरपालिका-३ का ४१ वर्षीय भीष्म थापा, दमक नगरपालिका- ९ स्थित चिया दोकान चोकका ५० वर्षीय देवी बास्कोटा (गुरागाईँ), कोटी होमका पुजारी कनकाई नगरपालिका-३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला छन्।

यस्तै शिवसताक्षी नगरपालिका-१ का ३२ वर्षीय सरुन लिम्बु भन्ने दिलकुमार सामेखाम, सङ्खुवासभा खाँदवारी नगरपालिका- १० सित्तलपाटी घर भई मोरङ सुन्दरहरैचा- ६ बस्ने २९ वर्षीय मनमोहन दाहाल, गौरीगञ्ज गाउँपालिका-३ का ३२ वर्षीय आनन्द भन्ने अनन्तप्रसाद गिरी र ४५ वर्षीय विजयकुमार दास हलुवाई  पक्राउ परेका छन्।

पक्राउ परेकाहरूलाई बिहीबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएकाे हाे। प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले भूमिगत समूह गोरखा जनमुक्ति पार्टीको नामबाट आपराधिक गतिविधि गर्ने पक्राउ परेका व्यक्तिहरू नै जेलबाट छुटेपछि भूमिगत समूहको नाम परिवर्तन गरी सोही प्रकृतिको आपराधिक कार्य गर्दै आएको खुलेको जानकारी दिए।

प्रहरीले उनीहरूकाे साथबाट हिमाल सुरक्षा परिषद् नेपाल इन्चार्ज केन्द्रीय कमिटी, इन्चार्ज कोसी अञ्चल कमिटी, अध्यक्ष कोसी अञ्चल कमिटी, अध्यक्ष मेची अञ्चल कमिटी, इन्चार्ज मेची अञ्चल कमिटी, हस्ताक्षर मात्र भएको १० थान छापसहित आर्थिक सहयोग माग गरिएका लेटर प्याड बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।

झापा र मोरङका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

परिषद्ले माघ १३ गते दमक नगरपालिका-५ हरि ओम कोलोनीस्थित सियोन चर्चको दक्षिणतर्फको प्रवेशद्वारमा बारुद जस्तो देखिने धुलो (इआडि) शङ्कास्पद बस्तु र माघ ९ गते बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम बस स्ट्यान्डमा प्रेसर कुकर बम राखेर आतङ्क मच्चाएको थियो। बमसँगै राखिएको पर्चामा हिन्दु राष्ट्र स्थापना हुनुपर्ने, सङ्घीयता खारेज गर्नुपर्ने, एमसिसी सम्झौता खारेज हुनुपर्ने लगायतका माग उल्लेख गरिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर