Aamsanchar

अमेरिकामा काेराेनाकाे खोप लगाइएका शरीरमा समेत आक्रमण गर्ने नयाँ दुई भेरियन्ट भेटिए

Author Image
मङ्गलवार, वैशाख २०, २०७९

वासिङटन – ओमिक्रोनभन्दा बढी छिटो सर्ने र कोरोनाविरुद्धको खोप लगाइएका शरीरमा समेत आक्रमण गरेर संक्रमित गराउने खालको नयाँ दुईवटा भेरियन्ट संयुक्त राज्य अमेरिकामा पनि देखिएको छ । यसले नयाँ महामारीको संकेत दिएको हुन सक्ने बताइएको छ ।

बीए ४ र बीए ५ दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन बीए १ जस्तै हुन् । गएको साता ब्लुमबर्गले जनाएअनुसार झन्डै सबै दक्षिण अफ्रिकीले खोप लगाइसके पनि संक्रमणका घटना बढिरहेको छ ।

दक्षिण अफ्रिकाको सरुवा रोगका लागि राष्ट्रिय प्रतिष्ठानले आइतबार मात्र झन्डै चार हजारजना नयाँ कोरोना संक्रमित भेटिएको जनाएको छ । परीक्षण गरिएका मध्ये २२ प्रतिशतमा पोजिटिभ भेटिएको छ ।

विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कोरोनाको पहिलो लहरपछि पोजिटिभको स्तर ५ प्रतिशतभन्दा कम भएको खण्डमा समुदाय खुला गर्न सकिने सिफारिस गरेको थियो । कोरोनाविरुद्धको खोप लगाइसकेका र ओमिक्रोनको सिकार भइसकेका दुवै खालका मानिसलाई नयाँ भेरियन्टले आक्रमण गरेको खण्डमा बिरामी पर्ने बताइएको छ ।

तर, दक्षिण अफ्रिकाका एक वरिष्ठ कोरोना अनुसन्धानकर्ता एलेक्स सिगलले त्यस्ता बिरामीलाई सम्भवतः अस्पतालै भर्ना गर्नु नपर्ने र उनीहरूको ज्यान पनि नजाने फोर्च्युनलाई बताएका छन् ।

दक्षिण अफ्रिकास्थित अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्युटका प्राध्यापक सिगलले खोप लगाइसकेका र पहिल्यै संक्रमण भइसकेका एन्टिबडी भित्र छिर्न सक्ने भएकाले नयाँ भेरियन्ट बीए ४ र बीए ५ ले संक्रमणको नयाँ लहर सिर्जना गर्न सक्ने बताएका छन् ।

अमेरिकाको कुल जनसंख्याको करिब ६६.२ प्रतिशतले पूर्ण खोप तथा ४५.८ प्रतिशतले बुस्टर डोज लिएका छन् । यस्तै, पाँच वर्षमुनिका बालबालिकालाई अझै खोप वैधानिकता प्रदान गरिएको छैन । यी नयाँ दुई भेरियन्ट बीए २ भन्दा बढी सर्ने खालको देखिएको बताइएको छ । फोर्च्युनबाट ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 428

प्रतिक्रिया (०)

सम्बन्धित खबर