Aamsanchar

शाक्यमुनि बुद्धको जन्म विषयमा दुई तर्कहरू

Author Image
सोमवार, जेठ २, २०७९

बुद्ध शब्दको अर्थ
बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक हुन्, बुद्ध । यस्ता महान् गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार सिर्जना गरेको भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मानिसलाई सांसारिक मोह र तनावबाट ब्युँझाउन सहयोग गरे गरेका छन् तिनैलाई बुद्ध भनिन्छ ।

हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ बीजारोपण गर्न सिकाउने बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचाको बिचमा भएको थियो ।

आज विश्व बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका गुरु हुन् । २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । गौतम बुद्धका जीवनमा यो वैशाख शुक्ल पूर्णिमाले ठुलो महत्त्व छ । उहाँको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएको हो ।

शाक्यमुनिको जन्म विषयमा दुई तर्कहरू
शाक्यमुनिको जन्म विषयमा र मितिको हिसाबका लागि सिंहली र केन्टोनिज गरी दुई थरी मत छन् । एउटा मत लेखन अर्थात् साहित्यिक कृतमा आधारित छ भने दोस्रो मत चाहिँ शिलालेखमा आधारित छ । नेपालमा भने सिंहली मत अनुरूपको मिति चलेको छ, यो साहित्यिक श्रोतमा आधारित छ । सिंहलद्वीप श्रीलङ्कामा सिंहली मतको विकास भएको हो । नेपालमा थेरवादी बौद्ध धर्मको प्रचार–प्रसार श्रीलङ्काबाट भएको छ ।

त्यस कारण नेपालमा सिंहली मत अनुसारको भगवान् बुद्धको जन्म मिति प्रचलित छ । केन्टोनिज मतको विकास पूर्वी चीनको केन्टन सहर वाट भएको हो । भगवान् बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि प्रत्येक वर्ष केन्टनको एउटा ढुङ्गाको गुफाको पहरोमा एउटा थोप्लो अङ्कित गरेर बुद्धको महापरिनिर्वाण वर्षको अभिलेख राख्न थालियो । यसलाई डटेट रेकर्ड भनिन्छ । सन् ४८९ सम्म यस्तो थोप्लोको सङ्ख्या ९७५ पुगेको थियो ।

शाक्यमुनि बुद्धको जन्म
भगवान् शाक्यमुनि बुद्धको जन्म ई।पू ।५६६ मा भएको मानिएको छ । यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ई। पू। ५६६ भन्दा पहिले भएको देखिन आउँछ । भगवान् बुद्ध महावीर जैन भन्दा अघिको देखिन आउँछ । तर केन्टोनिज मतलाई मान्दा ई।पू। ५६६ मा बुद्धको जन्म भएको थिति–मिति मिल्न आउँछ ।
यिनै शाक्यमुनिको जन्म, समाधि अनि ज्ञान प्राप्तिको दिनका रूपमा आज विश्वको उत्तरीदेखि दक्षिणी ध्रुवसम्म, मृत सागरदेखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारसदेखि बेइजिङसम्म आ–आफ्नै तरिकाले बुद्ध जयन्ती मनाइन्छ । भौतिक शरीर नाश भए पनि आफ्ना ज्ञान, वचन अनि आध्यात्मिक सीपमार्फत बुद्ध हामी सबैको चित्तमा विराजमान नै छन् ।

बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मन साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका भन्ने किंवदन्तीहरू सुनिन्छ । यसका अनुसार, उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको जानकारी र जनाऊँ भएको मानिन्छ । जन्मन साथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो ।

शाक्यमुनि बुद्धको जीवकथा
यद्यपि अत्यन्त अनुशासित र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सम्पूर्ण जीव–जगत् र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुख सयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् । त्यसपश्चात् आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतम नै आज संसारका महान् गौतम बुद्ध हुन् । यसरी सांसारिक दुःखको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृह त्याग गरी बोध गया भन्ने ठाउँमा एक वृक्ष मुनि अधिष्ठानपूर्वक तपस्यामा लिन भए । तपस्याका क्रममा बुद्धलाई सम्यक् सम्वोधी अर्थात् महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरूमा उनले त्यही महाज्ञानलाई बाँडे । संसारभर भगवान् बुद्ध भनी कहलिए । बुद्ध धर्म एक अनीश्वर वादी धर्म मात्र नभई कन एउटा अहिंसा, अधर्म अनि असत्यबाट मानवलाई जोगाउने एउटा दर्शन हो, सर्वव्यापी दर्शन ।

यो धर्म शाक्यमुनि गौतम बुद्ध र उनका अनुयायीहरूका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम बुद्धलाई वर्तमान कल्पको चौथौँ सम्यक् सम्बुद्ध मानिन्छ ।
विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौथौँ ठुलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलङ्का, बर्मा, थाइल्यान्ड, लाओस्, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मङ्गोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।

त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरू
बुद्धका सबै शिक्षा र उपदेशहरूको सङ्ग्रहलाई त्रिपिटक भनिन्छ ।

त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ । त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू सङ्गृहीत छन् । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतितय–समुत्पाद हो । आधारभूत गुणहरू अनित्य, दुःख र अनात्मलाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ । गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्छन् । गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपाल भूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्सेनि सार्वजनिक बिदा दिँदै आएको छ ।

बुद्ध भन्नाले बोधी प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ । उत्तर कोरियाले अशान्त भएर संसारतर्फ क्षेप्यास्त्र तेरस्याईरहँदा, रङ्ग, सम्पत्ति, भाषा र भूगोलका आधारमा विभेद भइरहँदा बुद्धको दर्शनले शान्तिको शान्तिपूर्ण वकालत गरिरहेको छ । बुद्धका ज्ञानलाई आत्मसात् गरे मात्र पनि पृथ्वी गज्जबको ग्रह हुनेछ । संसारलाई अर्को बुद्ध चाहिएको छ, फर्की आऊ शाक्यमुनि, शान्तिको सन्देश लिएर आऊ है । बुद्ध जयन्तीको शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 488

प्रतिक्रिया (०)

सम्बन्धित खबर