चारपाने । रिलोमाला सन्थाली आख्डा नेपालको आयोजना र नेपाल सन्थाल आदिवासी उत्थान संघ रतुवामाई नगर एकाई समितिको सहकार्यमा मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ७, भौडाहमा एक दिने अन्तर्राष्ट्रिय सन्थाली माज्हि पारगाना सम्मेलन सम्पन्न भएको छ ।
‘सम्पूर्ण माज्हि पारगाना एक जुट बनौं, सन्थाली भाषा लिपिको संरक्षण गरौं’ भन्ने नारा सम्मेलनको रहेको थियो । पछिल्लो बर्ष यता सन्थाल जातीमा आएको भाषा, संस्कृती, परंपरागत सामाजिक रितीरिवाजमा आएको विचलनलाई एकरुपता बनाउनु पर्ने उदेश्यले दुई देशिय नेपाल–भारतका सन्थाली समुदायका अगुवा बिच सम्मेलन भएकोे थियो । शनिबार दिउसो २ बजे देखि सुरु भएको सम्मेलन राती १ बजे सम्म चलेको थियो ।
सम्मेलनमा मुख्य गरेर एउटा विषयलाई प्रार्थमिकतामा राखेर छलफल गरिएको थियो । छलफलमा मज्हि पारगाना विस्तार (टोल,नगर,जिल्ला समिति) गठन गरेर मात्र आफ्नो भाषा, सस्कृति, रितिरिवाजलाई एक रुपतामा ल्याउन सकिने निस्कर्ष सम्मेलनबाट प्राप्त भएको, अव गाउँ गाउँमा पारगाना विस्तार कार्यलाई तिब्रता दिने आयोजक संस्था रिलोमाला सन्थाली आख्डा नेपालका अध्यक्ष सम्मेलनका साभाध्यक्ष रिमिल श्याम सुन्दर वेस्राले बताए ।
नेपालमा सन्थाल समुदायबीच आफ्नो पहिचानका सन्दर्भमा देखिएको फरक मत, सन्थाल, संताल र सान्ताड मध्ये एक लेख्ने गरी एकरुपता ल्याउन पनि सम्मेलनमा छलफल भएको वेस्राले बताए ।
सम्मेलनमा नेपाल भरिका सन्थाल अगुवा र भारतबाट भाषा, संस्कृति विदहरुको सहभागिता रहेको थियो ।
सरकारी कामकाजको भाषा तथा कागजातमा ‘सतार’ लेखिँदा आफूहरुमाथि अपमान र अन्याय भएको भन्दै सन्थाल समुदायले आवाज उठाउँदै आएको छ । उक्त शब्दको सट्टामा आफ्नो समुदायलाई बुझाउने शब्द चयनमा एकरुपता गराउन सम्मेलका वक्ताहरुले नेपाल सरकार समक्ष माग गरेका छन् ।
नेपालमा ५१ हजार ७७५ र विश्वमा एक करोडभन्दा बढी संख्यामा सन्थाल आदिवासी रहेको बताईएको छ । नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तानमा मुख्य बसोबास रहेको सन्थाल समुदाय कामको सिलसिलामा अमेरिका, ब्रिटेन, अष्ट्रेलिया, जापान, कोरिया, खाडी मुलुक आदिमा छरिएर रहेको बताइन्छ ।
सन्थाल जातिको भाषा, धर्म संस्कार, संस्कृति, लिपि, वाप्ला, छटियोर, भाण्डान, आगापुजो, शिक्षा, स्वास्थ्य, राजनीतिक स्थिति लगायतका बारेमा पनि सम्मेलनमा छलफल भएको सम्मेलनका सहभागीहरुले बताएका छन् ।
के भन्छन् त सहभागी माज्हि हडामहरु ( गाउँको मुखियाँ)
मोरङ रतुवामाई–९ जयनगरका मज्हि हडाम भुत्चुङ बेस्राका भनाई अनुसार ‘सन्थाल जातीमा जन्म, ब्रतबन्ध, विवाह र मृत्यु संस्कारमा अहिले एक रुपमा चलेको छैन्, एक रुपता नहुनुको कारण गुरुहरु नहुनु र लिखित मन्त्र, सास्त्र नहुनु हो । विगत ४० बर्ष देखि क्रमस् हाम्रो परंपरामा फरकपन आउन थालेको हो । मृत्यु संस्कार कसैले ६ महिना कसैले बर्ष दिन र कसैले १५ दिनमा गर्ने गरेका छन् खासमा मृत्यु भएको बार देखि एक हप्ता छोडेर अर्को बारमा मृत्यु संस्कारको काम गर्नु पर्ने सन्थाली परंपरा हो । नियम अनुसार १५ दिनमै गर्नु पर्छ,अब यही १५ दिनलाई एकरुपता दिनु पर्छ ।’
आफ्नै नियम कानुनमा चल्दै आएको सन्थाली संस्कार अहिले आएर मुलुकी ऐनको कारणले पनि केही असहज भएको छ, केही कुरामा भने सहज बनाएको छ । पहिले गाउँमा भएका सबै सामाजिक मुद्धाहरु गाउँकै पञ्च भदालमीले हेर्नु पर्दथियो त्यसका लागि गाउँमा मज्हि हडाम (मुखिया), जगमुनी (सुराकी),जग परानिक (अराउने खटन पटन गर्ने) नाइकी (पुजारी), र गुडित (पिउन) चयन गरिएको हुन्छ, अहिले पनि यसरी पञ्च गठन गर्ने चलन छ, तर मज्हि हडाम मरेपछि उसैका छोरालाई मज्हि हडाम मान्नु पर्ने नियमले गर्दा अज्ञानी पनि मज्हि हडाम बन्दा न्याय सम्पादन राम्रो भएन र सामाजिक वियषमा उनिहरुलाई महत्व दिन छोडिएको छ । कुनै समस्या भए प्रहरी, पालिकामा जाने गरिएको छ, त्यस कारणले पनि रितिरिवाजमा विचलन आउनेक्रम सुरु भएको हो । पहिला कुनै युवतीलाई कुनै युवाले मेला, बजारमा मनपराएर छोयो भने त्यसैले लान पाउने चलन थियो । त्यो चलन अहिलेको समयमा सुहाउदै छैन कानुनले त्यस्तो गर्न दिदैन त्यो चलन बन्द भएको छ, यो कार्यमा कानुनले गर्दा राम्रो सहयोग भएको कटहरी–६ केसरिया साख्खाटोलाका मज्हि हडाम ठाकुर मुर्मुको भनाई रहेको छ ।
शिक्षाको पहुँचमा पुग्न नसकेका सन्थाल समुदायमा अहिले शिक्षाको ज्योती फैलिदै गएको छ । लोकतन्त्रमा सबै जात जातीले आफ्नो पहिचान र अस्तित्व खोजी गरिरहेका छन् । सन्थाल समुदायमा पनि शिक्षित युवाहरुले राज्यले दिनु पर्ने आफ्नो हक अधिकार, अवसरलाई खोजी र माग गर्न थालेका छन् । अघिल्लो जनगणना अनुसार नेपालमा ५१ हजार ७७५ जनासंख्या रहेको छ । त्यसमा सरकारी अभिलेखमा समावेस नभएका थुप्रै परिवारहरु रहेका छन् । २०२८ सालमा लेखिएको नेपाली शब्दकोषमा सन्थाललाई सतार लेखिएको छ । हामी सतार होईनौं सन्थाल वा सन्ताल हौं सब्दकोषमा लेखिएको कुरा राजपत्र मार्फत सरकारले सम्सोधन गर्नुपर्छ । संविधानमा भने सन्थाल लेखिएको छ । त्यो पनि हाम्रो समुदायमा छलफल नै नगरी लेखियो र अहिले सन्थाल र सन्तालमा दुविधा भयो । भारतमा सन्ताल लेखिने गरेको छ । शब्दकोषमा सतार लेखिदा हामिलाई ठेस् पुगेको छ । हराउदै गएको मज्हि प्रगाना प्रथालाई कायम गर्न जरुरी रहेको झापा अर्जुनधारा–५ का सहारा साकोसका मर्मचारी समेत रहेका २८ बर्षे युवा किशन मुर्मुको भनाई रहेको छ ।
पहिले हाम्रा अग्रजहरुले तान्त्रिक विधीबाट उपचार गर्ने गर्दथिए । विच्छु, सर्पले टोकेमा विष खेलाउने (जडिवटीबाट उपचार) गर्ने गर्थेे । त्यो विधी र मन्त्र लेख्नु हुदैन मनमै कण्ठस्थ पार्नु पर्छ भनेर अग्रजहरुले आफ्नो मनमै राखेर मरेर गए, वैद्धिक परंपरा गर्ने तरिका पनि हराएर गयो । अझै पनि केही गुरु अगुवाहरु रहेका छन् । अब तिनीहरुले गर्दै आएका विधी र मन्त्रलाई लिपिवद्ध गरिनु पर्छ । यसो गरिएन भने केही बर्षमै सन्थाल सभ्यता हराएर जाने झापा कनकाई–८ कल्टुबारीका मज्हि हडाम बाबुराम मुर्मुले बताए ।
सम्मेलनमा सहभागी झापा गौरीगंज–३ की १८ बर्षीया सर्मिला सोरेर र विर्तामोड–३ की बर्ष २३ की निर्जला सोरेन भन्छिन् ‘यो सम्मेलनले धेरै कुरा सिकाएको छ । हामिले हाम्रो संस्कृति अनुसार ८० प्रतिशत विधिविधानको बारेमा थाहाँ पाएकै रहेन छौं, धेरै कुरा थाहाँ भयो । यसैगरी समय समयमा युवा पुष्तालाई जानकारी गराउने गरि यस्ता कार्यक्रमहरु ठाउँ ठाउँमा आयोजना हुनु पर्छ ।’
रिलेमाला सन्थाली आख्डा नेपालका अध्यक्ष रिमिल श्यामशुन्दर बेस्राको सभापतित्वमा आयोजित सम्मेलनको प्रमुख अतिथि प्रदेश १ कृषि मन्त्री झलकसिंह दर्लामीको प्रमुख आथित्यता रहेको थियो ।
सम्मेलनमा भारत जाकात मज्हि प्रगाना प्रमुख बादल किस्कु, नेपालका संविधान सभा सदस्य मोहन टुडु, नेपाल सन्थाल आदिवासी उत्थान संघका अध्यक्ष सुन्दर बेस्रा, भारतबाट आएका डाक्टर नारान टुडु, प्राध्यापक माझान मुर्मु, गोपिनाथ टुडु, सुराय हेमरम, कैलास सोरेन, रवि हेमरमलगायतले धारणा राखेका थिए ।
कार्यक्रमको संचालन शिवु मुर्मु र सुभद्रा किस्कुले गरेका थिए ।