Aamsanchar

स्याङ्जामा रासायनिक मल अभाव टर्यो

Author Image
शनिवार, असार ४, २०७९

रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डिएपी) वितरण हुने खबर पाएका कृषक खुसी भएका हुन् ।

लामो समयदेखि रासायनिक मलको चर्को अभावका कारण तरकारी खेती, धान, मकैको उत्पादनमा कमी हुँदै आएको बेला स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङको डिपोमार्फत सोमबारदेखि रासायनिक मल (डिएपी) वितरण हुने भएपछि आफूलाई खुसी लागेको वालिङ–८ की कृषक रन्नता बगालेले बताए ।

“रोपाइँको बेला हुन लागेको थियो, रासायनिक मल नहुँदा चिन्ता लागेको थियो”, उनले भने, “सोमबारबाट मल पाइन्छ भन्ने सुनेकी छु, अब रोपाइँ गर्ने बेला भयो ।” धान रोपाइँ गर्ने तयारीमा रहेका स्याङ्जाका कृषकलाई लक्षित गरी भैरहवामा करिब ९०० बोरा डिएपी आइसकेकोमा आइतबारसम्ममा उक्त मल वालिङ आइपुग्ने कार्यालय प्रमुख नगेन्द्र थापाले जानकारी दिए ।

वालिङमा रहेको डिपोमा हालसम्म पालिकाको बैठकबाट छनोट भई आएका कृषि सहकारी, बहुउद्देश्यीय सहकारी तथा छनोट भएका आठवटा सङ्घसंस्थालाई डिलरका रुपमा मान्यता दिई सोहीमार्फत कृषकलाई मल उपलब्ध गराइने उनले बताए ।

कृषक तथा डिलरबाट आएको मागको आधारमा र यसअघि खरिद बिक्री भएको अनुपातलगायतका आधारमा मल वितरण गरिने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया (०)

सम्बन्धित खबर