Aamsanchar

रोटरी क्लब अफ काँकरभिट्टाद्वारा खानेपानी परियोजना हस्तान्तरण

Author Image
बिहिवार, असार ९, २०७९

मेचीनगर । झापाको मेचीनगर—७ स्थित मदनवस्तीमा अढाईदशकअघिदेखि मेचीनगर नगरपालिकाद्वारा सञ्चालित श्री कृष्ण प्राथमिक विद्यालयमा त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई शुद्घ पिउनेको निक्कै अभाव थियो । चैतको टन्टलापुर घामा तिर्खाएका विद्यार्थीहरु विद्यालय नजीकै गएर ट्युवेलको पानी पिएर तिर्खा मेट्न बाँध्य थिए । तर, अब भने यो समस्याबाट विद्यालय मुक्त भएको छ ।

विद्यालय परिसरमा रोटरी क्लब अफ काँकरभिट्टाद्वारा नवनिर्मित शुद्घ पिउने पानी परियोजना आइतबार सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेपछि यो समस्याबाट विद्यालयले मुक्ती पाएको हो ।

मेचीनगर—७ स्थित मदनवस्तीमा २०५२ सालमा स्थापना भएको मेचीनगर नगरपालिकाद्वारा सञ्चालित श्री कृष्ण प्राथमिक विद्यालयमा नवनिर्मित शुद्घ पिउने पानी परियोजना विहीबार सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका वडानम्बर—७ का वडाध्यक्ष प्रलादमणि ओली रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२१ ÷०२२ का अध्यक्ष रोहितकुमार बुढाथोकीले संयुक्तरुपमा विद्यालयका प्रधानध्यापक हरिप्रसाद सुवास राजवंशीलाई चिसो पानी पिउन दिएर परियोजना हस्तान्तरण गर्नुभएको थियो ।

रोटरीले विद्यालयमा खानेपानी परियोजना सम्पन्न गरी हस्तान्तरण गरेर यहाँको ठूलो समस्या समाधान भएकोमा विद्यालयका प्रधानध्यापक सुवास राजवंशीले

खुशी व्यक्त गर्नुभयो । विद्यालय परिसरमा यस्तो परियोजना निर्माण गरिएकोमा विद्यालय परिवार पनि खुशी छ ।

धेरै कुराबाट समस्या झेलिरहेको आनि कक्षा ५ सम्म पढाई हुने यो प्राथमिक विद्यालयमा ५० जना विद्यार्थी अध्ययनरत छन् । त्यहाँ अध्ययनरत अधिकाँश बालबालिका राजवंशी समुदाय तथा चिया, निर्माण, कृषि मजदुरका छोराछोरी रहेको प्रधानध्यापक राजवंशीको भनाई छ । बालबिकासबाट कक्षा २ सम्म सरकारी माध्यमबाट चलेको छ भने बाकी कक्षा स्थानीय सरकारको भरमा छ ।

मेचीनगर नगरपालिका वडानम्बर—७ तथा रोटरी क्लब अफ काँकरभिट्टाको गरी २ लाख रुपैयाँ बढिमा परियोजना सम्पन्न भएको हो । यसअघि नगरका विभिन्न विद्यालयमा यस्तै परियोजना सम्पन्न गरी हस्तानतरण गरिएको अध्यक्ष बुढाथोकीको भनाई छ ।

३ सय लिटरको स्टिलको ट्याँकीसहित ३ वटा धारा जडान गरिएको छ । अध्यक्ष बुढाथोकीका अनुसार वडानम्बर ४ मा रहेको पशुपति मावि र ८ को बालकल्याण माविमा समेत शुद्घ पिउने पानी परियोजना सम्बन्धित विद्यालयलाई हस्तान्तरणको अन्तिम तयारीमा छन् । काँकरभिट्टा माविमा हस्तान्तरण भइसकेको छ ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि वडाध्यक्ष ओलीले रोटरीले विश्व शान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार तथा रोकथाम, आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो । रोटरीले यसअघि समेत विभिन्न विद्यालयमा रचनात्मक कार्य गरेको भन्दैं वडाध्यक्ष ओलीले आगामी दिनमा समेत यस्ता कार्यले निरन्तरता पाउने विश्वास दिलाउनुभयो । उहाँले अब समाज रुपान्तरण र परिवर्तमा सवै लाग्नुपर्ने बताउनुभयो ।

वातावरणका क्षेत्रमा नगरलाई सफा स्वच्छ र स्वस्थ्य हराफरा बनाउन विभिन्न ठाउँमा वृक्षारोपणदेखि उपचारको पहुँचबाट टाढा टाढा रहेका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना तथा क्यान्सर जस्तो प्राणघातक रोगका बारेमा चेतना प्रदान गर्ने उद्देश्यले वार्षिकरुपमा रोटरीले विविध कार्यक्रम आयोजना गर्ने गरेकोमा क्लबका प्रोजेक्ट चियर दीपेन्द्रराज पाण्डेको भनाई छ ।

सन् २०२२/२०२३ का अध्यक्ष सुजन प्रधानले स्वागत गरेको कार्यक्रममा सन् २०२२÷२०२३ का सचिव भगिरथ राईले सञ्चालन गर्नुभएको थियो ।

क्लबले शिक्षाका क्षेत्रमा धेरै काम गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत ४ जना, मेचीनगरकै बाहुनडाँगीमा रहेको अर्काे विद्यालयका जेहेन्दार र आर्थिक अवस्था अलि कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा रोटरीले सपिङ कम्पलेक्स परिसरमा महिलाहरुलाई लक्षित गरेर सार्वजनिक शौचालय निर्माण गरेर काम को थालनी गरेको थियो । विस्तारै विस्तारै यसले स्वास्थ्यका क्षेत्रमा समेत हात हालेर सन् १९८५ मा संसारबाट पोलियो उन्मुलन गर्ने दायित्व आफ्नो काँधमा लिदैं १९८८ मा विश्व स्वास्थ्य संगठन, युनिसेफ मिलिण्डा गेट्स फाउण्डेशनलगायतका संस्थाहरुसँग सहकार्य गरेर हाल सम्म ९९ दशमलव ९ प्रतिशत पोलियो संसारबाट उन्मुलन गर्न सफल भएको कार्यक्रममा चर्चा गरिएको थियो ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष, कृष्णकान्त खनियाँ, पूर्व अध्यक्ष राधिका गुरुङ, रोटरियन मेदनीप्रसाद खरेललगायत रोटरीका सदस्यहरु, विभिन्न उद्योगी व्यवसायीहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर शुद्घ पिउने पानी परियोजना सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरेर रोटरी क्लब अफ काँकरभिट्टाले विद्यालयलाई ठूलो गुण लगाएको छ । आगामी दिनमा समेत समाज रुपान्तरणमा रोटरीले उल्लेखिय भूमिका निर्वाह गर्न जरुरी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 360

प्रतिक्रिया (०)

सम्बन्धित खबर