Aamsanchar

रोटरी क्लब अफ काँकरभिट्टाको अध्यक्षमा सञ्चार उद्यमी प्रधान

Author Image
शुक्रवार, असार १७, २०७९

मेचीनगर । रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२२/२०२३ को नयाँ नेतृत्वले विद्यालयलाई खानोपानी आयोजना हस्तान्तरण गरेर आफ्नो पदभार ग्रहण गरेको छ ।

सन् २०२१/२०२२ को आयोजना अन्तर्गत बाल कल्याण माध्यमिक विद्यालय मेचीनगर —५ मा निर्माण गरिएको नवनिर्मित शुद्घ पिउने पानी परियोजना शुक्रबार सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेर समितिले पदभार ग्रहण गरेको हो । सन् २०२१/२०२२ र सन् २०२२/२०२३ का अध्यक्ष क्रमस रोहितकुमार बुढाथोकी र सुजन प्रधानले संयुक्तरुपमा विद्यालयका प्रधानध्यापक नारायणप्रसाद न्यौपानेलाई परियोजनाको साचो हस्तान्तरण गर्नुभयो ।

रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२२/२०२३ को अध्यक्षमा सञ्चार उद्यमी सुजन प्रधान चयन हुनुभएको छ । उहाँ हव डिजीटल मिडिया प्रालिका प्रवन्ध निर्देशक हुनुहुन्छ अध्यक्ष प्रधान सन् २०१० देखि वा रोटरी क्लब अफ काँकरभिट्टाको स्थापनाकालदेखि नै आवद्घ हुनुहुन्छ । संस्थापक एडमिनिस्ट्रेसन चियर हुदैं डिष्ट्रीकका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ । भरखरै सम्पन्न १४ औँ डिष्ट्रीक कम्फरेन्सको सचिवको जिम्मेवारी समेत उहाँले निर्वाह गरिसक्नुभएको छ ।

यसैगरी प्रेसिडेन्ट इलेक्टमा इञ्जिनियर रुद्र मैनाली, प्रेसिडेन्ट नोमिनी डाक्टर आनन्दराज खनाल तथा भाइस प्रेसिडेन्ट मेदनीप्रसाद खरेल र विजया तामाङ रहनु भएको छ ।

इमिडेट पास्ट प्रेसिडेन्टमा रोहितकुमार बुढाथोकी, सेक्रेटरीमा भगिरथ राई, जोइन्ट सेक्रेटरीमा जीवन भट्टराई, क्लबको चेयर एडमिनिस्ट्रेसनमा उदयकुमार श्रेष्ठ चयन हुनुभएको छ । ट्रेजररमा नवराज (कृष्णकान्त) खनियाँ सर्वसम्मत चयन हुनुभएको क्लबले जनाएको छ । मेम्बरसिप कमिटी चेयरमा लक्ष्मीदेवि खनियाँ, पब्लिक इमेज चियर मोहन निरौला, सर्भिस प्रोजेक्ट चयर दीपेन्द्रराज पाण्डे, द रोटरी फाउण्डेशन चियर बालकुमार घिमिरे चयन हुनुभएको सेक्रेटरी राईले जानकारी दिनुभयो । युथ चेयरमा रविचन्द्र नेपाल र सर्जन्ट एट आम्र्समा कृष्ण पौडेल चयन हुनुभएको छ ।

परियोजना हस्तान्तरण कार्यक्रममा बोल्दैं निवर्तमान अध्यक्ष रोहितकुमार बुढाथोकीले सम्बन्धित वडाले परियोजनाको लागि केही बजेट विनियोजन गरेपछि रोटरीले समेत थप रकम लगाएर करीव ३ लाख बढी रुपैयाँमा परियोजना सम्पन्न भएको बताउनुभयो । रोटरीले विश्व शान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार तथा रोकथाम, आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा पुर्याएको योगदानको अहिले विश्वभर प्रशंसा भएको चर्चा गर्नुभयो । आगामी दिनमा समेत यस्ता कार्यले निरन्तरता पाउने विश्वास उहाँले दिलाउनुभयो । उहाँले अब समाज रुपान्तरण र परिवर्तमा सवै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेचीनगर -५ का वडाध्यक्ष कनकबहादुर कार्कीले रोटरीले यो शहरदेखि निक्कै टाढा रहेको गाउँको विद्यालयमा परियोजना सम्पन्न गरेकोमा रोटरीको प्रंशसा गदैं आगामीदिनमा समेत बजेट विनियोजन गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । रोटरीले स्वास्थ्य, शिक्षा, वातावरणलगायत सामाजिकक्षेत्रमा पुर्याएको योगदानका बारेमा उहाँले चर्चा गर्नुभएको थियो ।

विद्यालयका प्रधानध्यापक नारायणप्रसाद न्यौपानेले यसको सञ्चालनमा कुनै समस्या आउन नदिने तथा संरक्षण र प्रयोगमा लाग्ने प्रतिवद्घता व्यक्तगर्नुभयो । रोटरीले विद्यालयमा खानेपानी परियोजना सम्पन्न गरी हस्तान्तरण गरेर यहाँको ठूलो समस्या समाधान भएकोमा विद्यालयका प्रधानध्यापक न्यौपानेले खुशी व्यक्त गर्नुभयो । धेरै कुराबाट समस्या झेलिरहेको अनि कक्षा १० सम्म पढाई हुने यो विद्यालयमा करीव ३ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रमको अध्यक्षता गदैं रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२२/२०२३ का अध्यक्ष सुजन प्रधानले आगामी दिनहरुमा रोटरी सामाजिक कार्यमा यसरी नै लाग्ने बताउनुभयो । रोटरी भनेको समाजप्रतिको उत्तरदायित्व वहन गराउने नाफारहित सामाजिक संस्था भएको भन्दैं उहाँले आफ्नो लागि मात्र नभएर समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच र निःस्वार्थ भावनाले समाजमा केही गरौं भन्ने विभिन्न क्षेत्रमा सक्रिय उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु मात्र रोटरीमा अटाउने विचार राख्नुभयो । यसअघि रोटरीले गर्दै आएका कामलाई निरन्तरता दिदैं थप अरू रचनात्मक र सकरात्मक काम गर्ने उहाँले प्रतिवद्घता दोहोर्याउनुभयो ।

यसअघि क्लबले मेचीनगर ५ को मेची आधारभूत विद्यालय, मेचीनगर-७ स्थित मदनवस्तीमा अढाईदशकअघिदेखि मेचीनगर नगरपालिकाद्वारा सञ्चालित श्री कृष्ण प्राथमिक विद्यालय, मेचीनगर- ६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालयमा शुद्घ पिउने पानी परियोजना हस्तान्तरण गरेको प्रोजेक्ट चियर दिपेन्द्रराज पाण्डेले बताउनुभयो । मेचीनगर वडानम्बर -४ मा रहेको पशुपति माविमा शुद्घ पिउने पानी परियोजना सम्बन्धित विद्यालयलाई हस्तान्तरणको अन्तिम तयारी छ ।

कार्यक्रमको सञ्चालन सचिव भगिरथ राईले गर्नुभएको थियो । कार्यक्रमा एजी राधिका गुरुङ, क्लबका पूर्व अध्यक्ष राजु महर्जन, क्लबको एडमिनिस्ट्रेसन चियर उदयकुमार श्रेष्ठ, ट्रेजररमा नवराज (कृष्णकान्त) खनियाँलगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 356

प्रतिक्रिया (०)

सम्बन्धित खबर