Aamsanchar

कनकाईमा ढलेको विद्युत खम्बाले स्थानीयलाई सास्ती, प्राधिकरणको लापरवाहीप्रति आक्रोश

Author Image
सोमवार, जेठ ११, २०८३

बिनोद पाण्डे

झापाको कनकाई नगरपालिका–१ स्थित पञ्चायत मार्गमा करिब एक महिनाअघि ढलेको विद्युत खम्बा र तार अझै नहटाइँदा स्थानीयवासी समस्यामा परेका छन्। खेतको बीचमा ढलेर रहेको खम्बाका कारण किसानले बाली लगाउने तथा खेत जोत्नेसम्मको काम प्रभावित भएको बताएका छन्।

स्थानीयका अनुसार नरम माटो भएको क्षेत्रमा जथाभावी ढंगले खम्बा गाडिँदा वर्षेनी यस्ता घटना दोहोरिने गरेका छन्। “जमिनको अवस्थाअनुसार प्राविधिक अध्ययन नगरी अन्य ठाउँकै शैलीमा खम्बा गाडियो, त्यसैले माटो गल्नेबित्तिकै खम्बा ढल्छ,” एक स्थानीयले गुनासो गरे।

ढलेको खम्बाले खेतमा लगाइएको बाली उठाउन समस्या भएको छ भने मनसुन सुरु हुन लागेकाले खेत खनजोत गर्नसमेत कठिन भएको पीडित कृषकको भनाइ छ। त्यसमाथि एउटै खम्बा ढलेपछि आसपासका अन्य खम्बासमेत जोखिममा पर्न सक्ने भन्दै स्थानीय त्रसित बनेका छन्।

स्थानीयले पटक–पटक जनप्रतिनिधि तथा नेपाल विद्युत प्राधिकरण समक्ष खम्बा हटाइदिन आग्रह गरे पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्। उनीहरूका अनुसार सरकारी निकायबीच समन्वय अभाव हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।

स्थानीयवासीले सार्वजनिक समस्या पर्दा सबैभन्दा पहिले जनप्रतिनिधिकहाँ पुग्ने गरे पनि विद्युत प्राधिकरणजस्ता निकायले स्थानीय सरकारको समेत बेवास्ता गर्ने गरेको आरोप लगाएका छन्। “जनताले सेवा खोज्छन्, कुन निकाय जिम्मेवार हो भन्ने बुझ्नु जनताको काम होइन,” स्थानीय सचेत वर्गको भनाइ छ।

हाल विभिन्न स्थानमा लत्रिएका तार, लच्किएका तथा ढलेका खम्बाका घटनाले नेपाल विद्युत प्राधिकरण को कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ। स्थानीयहरूले समयमै समस्या समाधान नगरे जनआक्रोश बढ्न सक्ने चेतावनी दिएका छन्।

Views: 19

प्रतिक्रिया (०)