नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक ठूलो समस्याका रूपमा देखिन थालेको छ । किसानले लगाएको मकै, धान, गहुँ, आलु, तरकारीदेखि फलफूलसम्म बादरले नष्ट गरिदिँदा कृषकहरू निराश बन्दै गएका छन् । कतिपय ठाउँमा त किसानले खेती नै छोड्नुपर्ने अवस्था सिर्जना भएको छ । स्थानीय तहदेखि केन्द्र सरकारसम्म बादर नियन्त्रणका विभिन्न उपायबारे छलफल भइरहे पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन । वास्तवमा बादर नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी र दीर्घकालीन उपाय भनेको जंगलभित्र फलफूल तथा जंगली आहाराका रुख–विरुवा संरक्षण र वृक्षारोपण गर्नु हो ।
मानिसले जंगलको जैविक प्रणाली र वन्यजन्तुको प्राकृतिक जीवनशैलीलाई नबुझ्दा आज यस्तो अवस्था आएको हो । पहिले जंगलमा प्रशस्त मात्रामा सुखवा, बर, पीपल, काफल, चुत्रो, अमला, जामुन, बाँस, डुम्री लगायतका जंगली फलफूलका रुखहरू हुन्थे । ती रुखहरूले बादर, चरा तथा अन्य वन्यजन्तुको मुख्य आहारा उपलब्ध गराउँथे । तर अहिले वन फँडानी, अव्यवस्थित विकास निर्माण, डढेलो र मानवीय हस्तक्षेपका कारण जंगलभित्रका यस्ता रुखहरू तीव्र रूपमा मासिँदै गएका छन् । जंगलमा आहाराको अभाव भएपछि बादर बस्ती र खेतीपाती भएको क्षेत्रमा आउन बाध्य भएका हुन् ।
आज जंगलमा सुखवाको एउटा रुख काट्न जति कानुनी जटिलता छ, त्योभन्दा अझ कडा कानुन बनाएर जंगली फलफूलका रुख संरक्षण गर्न आवश्यक छ । वन क्षेत्रमा भएका प्राकृतिक आहाराका रुख काट्न पूर्ण नियन्त्रण गरिनुपर्छ । साथै राज्यले राष्ट्रिय अभियानकै रूपमा जंगलभित्र फलफूल तथा वन्यजन्तुले खाने विरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ । प्रत्येक सामुदायिक वनले आफ्नो वन क्षेत्रमा वन्यजन्तुको आहाराका लागि छुट्टै क्षेत्र निर्धारण गरेर वृक्षारोपण गर्न सके धेरै समस्या स्वतः समाधान हुन सक्छ ।
वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्नुको अर्को मुख्य कारण जंगलमा अत्यधिक मानवीय गतिविधि पनि हो । जंगलका हरेक भागमा मानिसको प्रवेश, काठ कटानी, चरिचरन र सडक विस्तार भइरहेका छन् । यसले वन्यजन्तुको प्राकृतिक बासस्थान खल्बलिएको छ । यदि जंगलको निश्चित क्षेत्रलाई पूर्ण रूपमा “मानव प्रवेश निषेध क्षेत्र” घोषणा गरेर संरक्षण गर्न सकियो भने वन्यजन्तुहरू जंगलमै सुरक्षित र सहज रूपमा बस्न सक्छन् ।

फलफूल खाने जनावर जंगलबाट बाहिरिएपछि त्यसको असर पूरै पर्यावरणमा पर्छ । बादर, चराचुरुङ्गी मात्र होइन, उनीहरूलाई सिकार गर्ने बाघ, चितुवा, भालुजस्ता मासाहारी जनावरसमेत गाउँतिर झर्न थाल्छन् । त्यसपछि मानव–वन्यजन्तु द्वन्द्व अझ भयावह बन्छ । त्यसैले बादर नियन्त्रणलाई केवल लखेट्ने वा मार्ने विषयका रूपमा हेर्नु गलत हुन्छ । यो समस्या प्रकृति र जैविक सन्तुलनसँग प्रत्यक्ष जोडिएको विषय हो ।
अब समय आएको छ—वनलाई केवल काठ उत्पादन गर्ने ठाउँका रूपमा होइन, सम्पूर्ण जीवजन्तुको साझा घरका रूपमा बुझ्ने । जंगलभित्र फलफूलका विरुवा रोप्ने, जैविक विविधता जोगाउने र वन्यजन्तुको प्राकृतिक आहारा संरक्षण गर्ने हो भने बादर समस्या मात्र होइन, मानव–वन्यजन्तु द्वन्द्वको ठूलो हिस्सा स्थायी रूपमा समाधान हुन सक्छ ।


