
जलेश्वर – महोत्तरी सदरमुकाम जलेश्वरमा सोमबार (जेठ ११) बिहान यात्रुवाहक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जलेश्वर नगरपालिका–६ का ७५ वर्षीय वृद्ध चन्देश्वर साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पञ्चलाल गोलेले बताए ।
जनकपुरतर्फ जाँदै गरेको ना४ख ४७५८ नम्बरको यात्रुवाहक बसले जलेश्वर–२, मटिहानी चोकमा पैदलयात्री साहलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापश्चात् बस र चालक महोत्तरीकै पिपरा गाउँपालिका–९, अलिपट्टीका सत्यनारायण यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको डीएसपी गोलेले बताए ।
Views: 18


