Aamsanchar

सिलिगुडीदेखि झापा हुँदै काठमाडौँसम्मका अन्तरराष्ट्रिय बस सेवा आजदेखि शुरु

Author Image
बुधवार, असार २२, २०७९

झापा – नेपाल–भारतबीचको मैत्री सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले भारत पश्चिम बंगालको सिलिगुडीदेखि झापा हुँदै काठमाडौँसम्मका दुईवटा यात्रुवाहक बस सेवा आजदेखि शुरु भएको छ।

 

नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेशन (एनबीएसटीसी) र निजी कम्पनी ग्रिन लाइनको पहलमा सिलिगुडी–काठमाडौँ अन्तरराष्ट्रिय बस सेवा शुरु भएको हो।

पश्चिम बंगालका यातायात मन्त्री फिरहाद हकिमले बुधवार एक कार्यक्रमबीच उक्त बस सेवाको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै यातायात मन्त्री हकिम भने, ‘नेपाल–भारत दुई देशबीचको अन्तरराष्ट्रिय बस सेवा धेरै पहिला नै शुरु गर्नुपर्थ्यो, ढिलै भए पनि यो बस सेवाबाट दुवै देशका नागरिकलाई फाइदा पुग्नेछ।’ यसले गर्दा दुई देशबीचको मैत्री सम्बन्ध अझ प्रगाढ भएर जाने उनले विश्वास व्यक्त गरे।

एनबीएसटीसीका चियरमेन पार्थ प्रतिम रायले ग्रिन लाइन निजी कम्पनीको सहयोगमा अन्तरराष्ट्रिय बस सेवा शुरु भएको बताए। उनका अनुसार सिलिगुडीबाट प्रत्येक सोमबार, बुधवार, शुक्रबार र काठमाडौँबाट प्रत्येक मङ्गलवार, बिहीबार र शनिवार बस सेवा सञ्चालन हुनेछ।

काँकडभिट्टा–पानीट्यांकी नाकादेखि ३० किलोमिटर दूरीमा सिलिगुडी बस पार्क रहेको छ। त्यहाँबाट शुरु हुने बस सेवा काँकडभिट्टा–पानीट्यांकीबाट नेपाल प्रवेश गरी झापाको सडक हुँदै काठमाडौँ पुग्नेछ। सिलिगुडी र काठमाडौँ दुवै स्थानबाट दिउँसो ३ बजे बस छुट्नेछ। ४४ सिट क्षमता भएको बसको भाडा भारु १‚५०० अर्थात् नेपाली २‚४०० रुपैयाँ तोकिएको छ।

सिलिगुडी बस टर्मिनलस्थित काउन्टर वा सम्बन्धित कम्पनीको अनलाइन सेवाबाट टिकट खरिद गर्न सकिनेछ। पश्चिम बंगालका अधिकांश मानिस काठमाडौँमा कामको सिलसिलामा रहेका छन्। साथै व्यावसायिक कारोबार र स्वास्थ्य उपचार सेवा लिने नागरिकलाई पनि यस बस सेवाले सहयोग पुर्‍याउने एनबीएसटीसीका चियरमेन रायले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
3
+1
0
+1
0
+1
0
Views: 824

प्रतिक्रिया (०)

सम्बन्धित खबर