Aamsanchar

दुर्घटनाका घाइतेको मृत्यु भएपछि उर्लाबारी इलाका प्रहरी कार्यालय अगाडि शव राखेर प्रदर्शन

Author Image
बिहिवार, असार २३, २०७९

विराटनगर – दुर्घटनामा परेर घाइते भएका वृद्ध पुरुषको साढे चार महिनापछि मृत्यु भएसँगै परिवारका सदस्यले मोरङको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका छन् । परिवारका सदस्यले प्रहरी कार्यालयको गेटमा शव राखेर प्रदर्शन गरेका हुन् । प्रहरीका अनुसार दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा घाइते भएका मोरङको रतुवामाई नगरपालिका–५ का ७७ वर्षीय प्रेमबहादुर खड्काको बुधबार मृत्यु भएको हो ।

उर्लाबारी नगरपालिका–८ मा बा ६० प २११ र को १६ प ६४०८ नम्बरको मोटरसाइकल ठोक्किएर २०७८ फागुन ५ गते दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ६४०८ नम्बरको मोटरसाइकलको पछाडि सवार खड्का घाइते भएका थिए । उनको विराटनगरस्थित कोसी अस्पतालमा लामो समयसम्म उपचार गराइयो । अस्पतालले डिस्चार्ज दिएपछि उनलाई दुई साताअघि घर लगेर राखिएको थियो । घरमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टम गरेर अन्त्येष्टिका लागि प्रहरीले परिवारका सदस्यको जिम्मा लगाएर पठाएको थियो । परिवारका सदस्य र आफन्तले खड्काको शव इलाका प्रहरी कार्यालय उर्लाबारीअगाडि राखेर बुधबार दिउँसो प्रदर्शन गरेका हुन् । घाइते वृद्धको मृत्यु भएपछि फरार बनेका २११ नम्बरको मोटरसाइकलका चालक उर्लाबारी–९ का कृष्ण वाईबालाई तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै प्रदर्शन हुन थालेपछि प्रहरी कार्यालयमै छलफल राखिएको थियो । छलफलका क्रममा कम्तीमा दुई साताभित्र चालकलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउने सहमति भएपछि परिवारका सदस्य अन्त्येष्टिका लागि शव लैजान राजी भएका छन् । परिवारका सदस्यले शव राखिएको गाडी प्रहरी कार्यालयको गेटमा लगेर राखेपछि मृतक पक्ष र प्रहरीबीच छलफल भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । दुर्घटना गराउने चालकलाई जतिसक्दो चाँडो पक्राउ गर्ने सहमति भएपछि परिवारका सदस्यले शव लिएर गएको उनले बताए । दुर्घटनाका घाइतेको मृत्यु हुनसाथ फरार बनेका चालकको खोजी तीव्र पारिएको जानकारी श्रेष्ठले दिए । चालक वाईबालाई दुर्घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो । तर घाइतेको उपचार गराउने शर्तमा उनकै दाजुको जिम्मा लगाएर छाडियो । परिवारका सदस्यको जिम्मा लगाएर छाडिएका चालक उपचारपछि घरमा लगेर राखिएका घाइतेको मृत्यु भएसँगै फरार बनेको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकल भने इलाका प्रहरी कार्यालय उर्लाबारीमै राखिएको र घटनाको अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 326

प्रतिक्रिया (०)

सम्बन्धित खबर