Aamsanchar

हरिशयनी एकादशीको महत्त्व

Author Image
आइतवार, असार २६, २०७९

आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्त्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । सृष्टिकर्ता भगवान् हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन (सुत्न) जाने विश्वास गरिन्छ । त्यही कारण यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ ।

यो एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चतुर्मास सकी एकै चोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ । हरिशयनी एकादशीलाई तुलसी रोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ ।

हरिशयनी एकादशी मा के के गरिन्छ ?
आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान् विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक ऊर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दुहरूका लागि तुलसीको निक्कै महत्त्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दुहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।

हरिशयनी एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । ‘भविष्योत्तर’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यो एकादशीको महिमा भगवान् ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान् कृष्णलाई पनि सुनाएको उल्लेख छ ।

हरिशयनी एकादशी व्रत कथा
चलिआएको प्राचीन किंवदन्ती अनुसार, एकादेशमा एउटा सम्पन्न राज्यमा एक जना धार्मिक राजा मन्दताले शासन गर्ने गर्थे । तर लगातारका तीन वर्षको खडेरीले गर्दा त्यस राज्यमा समस्या उत्पन्न भएको थियो । नदी–नाला सुक्न थालेका थिए । रुख बिरुवाहरूले हरियाली गुमाइसकेका थिए ।

राजाका अपराधका कारणले गर्दा पनि राज्य र नागरिकले समस्या भोग्छन् भन्ने मान्यता थियो । त्यसपछि राजा मन्दताले आफ्नो कुनै गल्तीका कारणले वर्षाका देवता भगवान् नारायण आफूसँग रिसाउनुभएको ठानी जति गर्दा पनि उनी आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् । एक दिन राजाले अंगीरा नामका ज्ञानीलाई भेटेर समस्याको समाधानका रूपमा हरिशयनी एकादशीको महिमाबारेमा थाहा पाउँछन् । यस एकादशीको दिन पूजा अर्चना र व्रत बसेपश्चात् राज्यमा वर्षा भएको जनविश्वास छ ।

किंवदन्ती तथा कथाहरूले जेसुकै भने पनि राम्रो र सत्य–कर्म मानव जीवनको अमूल्य सम्पत्ति हो । सत्पथतर्फ लम्किँदै जानुहोस्, प्रगति तपाईँको साथमा हुनेछ ।
चतुर्मास व्रत आरम्भ

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मका ४ महिना भगवान् विष्णुले शयन गरेको अवस्थालाई चतुर्मास भनिन्छ । यस बेला भगवान् विष्णुले आफू शयन गर्ने हुँदा भगवान् शिवलाई आफ्नो कार्यभार सुम्पेका हुन्छन् । तसर्थ, धार्मिक मान्यता अनुसार आजको दिनदेखि श्रद्धालुहरूले विशेष गरी भगवान् शिवको पूजा–आजा गरी व्रत बस्ने गर्छन् ।

भगवान् विष्णु शयन गर्ने यो ४ महिनाभित्र श्रावणको व्रत, गणेश चतुर्थी, हरितालिका तिज, ऋषि पञ्चमी, नाग पञ्चमी, नवरात्री, कोजाग्रत पूर्णिमा, गोवर्धन पूजा आदि जस्ता थुप्रै दिनहरूमा बसिने व्रतहरू चतुर्मास व्रत हुन् । यो ४ महिनाको समयमा आफ्नो शारीरिक र मानसिक अवस्थाले साथ दिएसम्म व्रत बस्नु शुभ फलदायी हुने मान्यता परापूर्व कालदेखि रहिआएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर