Aamsanchar

४ जनाले पाए आमाको नामबाट नागरिकता

Author Image
सोमवार, असार २७, २०७९

धनकुटा : अदालतसम्म धाएर न्याय मागेपछि धनकुटाका ४ जनाले नागरिकता पाएका छन्। धनकुटा नगरपालिका ७ का नरेश तामाङ, ओम तामाङ र गणेश तामाङले आमा तारा तामाङको नामबाट वंशजको नागरिकता पाएका हुन्।

यस्तै छथर जोरपाटी गाउँपालिका ५ कि गौरी लिम्बूले आमा दिलमाया लिम्बूको नामबाट वंशजको आधारमा नागरिकता पाएकी हुन्।

जिल्ला प्रशासन कार्यालय धनकुटाले उनीहरुलाई नागरिकता प्रदान गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिए।

नागरिकता नपाएपछि उच्च अदालत विराटनगर धनकुटा इजलासमा दायर गरेको रिटमा अदालतले उनीहरुलाई आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको थियो।

जिल्ला प्रशासन कार्यालय धनकुटाबाट नागरिकता नपाएपछि तामाङले प्रशासनलाई विपक्षी बनाएर उच्च अदालत विराटनगर धनकुटा इजलासमा २०७८ चैत १४ गते रिट दायर गरेका थिए।

यस्तै गौरीले २०७८ चैत १६ गते रिट दायर गरेकी थिइन्। अदालतले दुवै रिटको २०७८ असार २१ गते जिल्ला प्रशासन कार्यालय धनकुटाका नाममा परमादेश जारी गर्दै आमाको नामबाट नागरिकता दिन आदेश गरेको थियो।

कुनै पनि व्यक्ति जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने व्यवस्था नेपालको संविधान २०७२ धारा ११ उपधारा २ (ख) मा छ तर पनि धनकुटा प्रशासनले उनीहरुलाई नागरिकता दिन इन्कार गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
47
+1
9
+1
1
+1
4
+1
3
+1
7
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर