Aamsanchar

मनकामना कलेजका पूर्व विद्यार्थीको मानवीय कामले समुदायको ध्यानआर्कषण गरायो

Author Image
सोमवार, असार २७, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको मनकामना कलेजका एक पूर्व विद्यार्थी मिर्गौलाको रोगबाट पीडित बनेपछि पूर्व विद्यार्थी मञ्चको अग्रसरतामा संकलित रकम आज परिवारलाई हस्तान्तरण गरिएको छ ।

मनकामना कलेजमा अध्ययन पूरा गरेका विद्यार्थीहरुको समूह पूर्व विद्यार्थी मञ्चले कलेजका पूर्व विद्यार्थी सविता उप्रेतीको उपचारका लागि संकलन गरेको १ लाख ६१ हजार १११ रुपैयाँ हस्तान्तरण गरेको हो ।

कलेजमा आज कार्यक्रमको आयोजना गरी सविताका दाजु हिमाल उप्रेतीलाई उक्त सहयोग रकम प्रदान गरिएको हो । मनकामना कलेजका प्रमुख प्रेमप्रसाद भट्टराई, एजुकेशनल कोअर्डिनेटर कुमार थपलिया, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष प्रकाश फुयेल, पूर्व विद्यार्थी मुकुन्द उप्रेतीले सविताका परिवारजनलाई रकम प्रदान गरेका हुन् ।

पूर्व विद्यार्थी मञ्चको नेतृत्वमा सञ्चालन भएको सहयोग रकम संकलन कार्यक्रममा नेपाल बाहिरका विभिन्न मुलुकबाट पनि रकम संकलन भएको जनाइएको छ । मिर्गौला पीडित सबिताको उपचारका लागि रकम संकलन गर्नेक्रम जारी रहेको र आवश्यक पहल गरिरहेको मुकुन्द उप्रेतीले जानकारी दिए ।

‘पूर्व विद्यार्थी मञ्चको तर्फबाट हामीले आज पहिलो चरणको सहयोग हस्तान्तरण गरेका हौं’ अभियन्ता उप्रेतीले भने ‘उनको उपचारका लागि सहयोग संकलन गर्नेक्रम जारी नै रहेको छ । र केही रकम जम्मा भएपछि पुनः परिवारजनलाई हस्तान्तरण गर्नेछौं ।’

सहयोग रकम ग्रहण पछि सबिताका दाजु हिमालले बहिनीको उपचारमा रकम संकलन गरी हस्तान्तरण गर्ने मनकामना कलेज पूर्व विद्यार्थी मञ्च परिवारलाई धन्यवाद दिएका छन् ।

पूर्व विद्यार्थीहरुकै पहलमा यसअघि बाह्रदशी जेसीजले सविताको उपचारका लागि नगद ४५ हजार रुपैयाँ सहयोग प्रदान गरेको जनाइएको छ ।

बिर्तामोड २ मा बसोबास गर्दै आएको उप्रेती परिवारमा ६ जना सदस्यमध्ये ४ जना मिर्गौला पीडित रहेको कार्यक्रम सञ्चालक मुकुन्द उप्रेतीले बताए ।

मनकामना कलेजका पूर्व विद्यार्थीले गरेको आर्थिक सहयोगले मानवीय काम संगै समुदायलाई पनि सहयोग गर्नको लागि ध्यानआर्कषण गराएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 901

प्रतिक्रिया (०)

सम्बन्धित खबर