Aamsanchar

माओवादी केन्द्रद्वारा गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग

Author Image
बिहिवार, असार ३०, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेको छ। बिहीबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै माओवादी नेता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा परेर विवादित भएकाले राजीनामा माग गरेका हुन्।

प्रश्न उठिसकेपछि गर्भनर अधिकारीले पद छोड्नु बेस हुने उनको भनाइ छ। ‘महाप्रसाद अधिकारी नाम गरेको अर्थ तथा योजना विभागको त्यही जिल्लाको मान्छे फलाना हुनुहुन्थ्यो । ०७३ सालको चाहिँ उहाँ नै हो । अहिले जो गभर्नर हुनुहुन्छ । अहिलेको चाहिँ अर्को हो भनेर गर्नुपर्‍यो । होइन भने जे सुकै बोलेर यता, उता भएको भएपनि कमसेकम विवाद भयो, अन्यौल भयो भन्ने मात्रै तर्क गरेर पनि उहाँले राजीनामा दिनु, पद छोड्दिनु बेस हुन्छ’ उनले भने, ‘विधि र नैतिक मूल्य कहीँ त लागु हुनपर्‍यो । अर्कालाई भन्दाखेरी हुने, आफुले गर्नुपर्दा तर्क ढाँट, छल गर्ने कहाँ-कहाँ पाइन्छ भनेर खोज्ने प्रवृति मौलाएर जाँदा कता पुग्छ देश? सबैले आत्मसमीक्षा गरौँ न ।’

सरकारले संवैधानिक परिषद् सम्बन्धि विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताए। तत्कालिन केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा हालका प्रधानमन्त्रीदेखि हाल सत्तारुढ सबै राजनीतिक दलले विरोध गरेको स्मरण गराउँदै उनले सरकारले सोही सारतत्वको विधेयक ल्याउन नहुने बताए।

सरकारमा हुँदा एउटा कुरा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने गर्नु नहुने बताए।

‘संवैधानिक परिषद् न संशोधन विधेयक कसरी आउन सक्यो ? हाम्रो सरकारबाट। तत्कालिन प्रधानमन्त्री केपी ओलीले अध्यादेशको रुपमा लिएर आउँदाखेरी, यही सारतत्वको अध्यादेश लिएर आउँदाखेरी हामीले बिरोध गर्‍यौँ । अहिले हामीले त्यही सारतत्वको विधेयक ल्याउन मिल्छ भने कसरी सक्ने के? डबल स्ट्याण्डर्ड कहिलेसम्म हाम्रो देशमा?’ उनले प्रश्न गर्दै भने, ‘सरकारमा हुँदा एउटा कुरा, विपक्षमा हुँदा आफूलाई चाहिँदा अर्को कुरा गर्न मिल्छ? यही हो त लोकतन्त्रको विधि र नैतिकता? त्यसो गर्न मिल्दैन।’

आगामी संघ र प्रदेशको निर्वाचनमा निर्वाचन आयोगले कुनैपनि विदेशी निकायहरुसँग आर्थिक सहयोग लिनु नहुनेमा ध्यानाकर्षण गराए। यदि आर्थिक सहयोग आवश्यक भएमा आयोगले प्रत्यक्ष रुपमा नलिइ अर्थ मन्त्रालयमार्फत लिनुपर्ने उनले बताए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर