Aamsanchar

इलाममा तीनदिने ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ तालिम शुरु

Author Image
शुक्रवार, असार ३१, २०७९

इलाम : इलाममा तीनदिने ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ तालिम शुरु भएको छ। नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजना तथा इलाम जिल्ला क्रिकेट संघको व्यवस्थापनमा शुरु भएको तालिममा विभिन्न जिल्लाका प्रशिक्षार्थीहरू सहभागी छन्।

जिल्ला समन्वय समिति कार्यालय इलामको सभाहलमा शुरु भएको कार्यक्रमको उद्घाटन इलाम नगरपालिकाका प्रमुख केदार थापाले गरेका थिए। कार्यक्रमका अवसरमा थापाले जिल्लामै पहिलोपटक यो किसिमको कार्यक्रम आयोजना भएकोमा खुशी व्यक्त गर्दै २०४२।४३ तिर क्रिकेट भित्रिए पनि यो खेलको विकास विस्तार हुन नसकेकोमा चिन्ता व्यक्त गरे।

उद्घाटनका क्रममा बोल्दै नेकोस राष्ट्रिय क्रिकेट संघका अध्यक्ष विप्लव घोषले नेपालको मेचीदेखि महाकालीसम्म क्रिकेटमय बनाउने अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरेको बताए। उनले नेपाल क्रिकेट संघसँगको सहकार्य तथा जिल्ला र प्रदेश क्रिकेट संघको समन्वयमा अगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तर रूपमा अगाडि बढाउने बताए।

नेकोस राष्ट्रिय क्रिकेट संघको मूल उद्देश्य नै ग्रासरुट क्रिकेटलाई माथि उठाउने तथा विभिन्न जिल्लामा क्रिकेट गतिविधि सञ्चालन गर्ने अध्यक्ष घोषले बताए। उनका अनुसार नेपालमा महिला क्रिकेटको सम्भावना भए पनि महिला क्रिकेट प्रतियोगिताहरू कम आयोजना भएको हुँदा निकट भविष्यमै नेकोस राष्ट्रिय क्रिकेट संघले महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताए। उनले कार्यक्रममा सहभागी महिला तथा पुरुष प्रशिक्षार्थीहरूलाई शुभकामना दिँदै क्रिकेटमा पनि भविष्य रहेको र सबैले आ–आफ्ना क्षेत्रबाट क्रिकेट विकासमा जोड दिनुपर्ने बताए।

कार्यक्रमका मुख्य प्रशिक्षक तथा आईसीसी प्यानलका अम्पायर बुद्धिबहादुर प्रधानले नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गरेका यस किसिमको कार्यक्रमले नेपालको हरेक ठाउँमा क्रिकेट चलायमान हुने र भविष्यमा देशले राम्रा अम्पायर र स्कोर पाउने आशा व्यक्त गरे। उनले यस्ता कार्यक्रमहरू देशका विभिन्न ठाउँमा आयोजना हुनुपर्नेमा जोड दिए।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेटबाट पाएको अनुभव यो कार्यक्रममा साझा गर्न पाउँदा गर्व लागेको उनले बताए। कार्यक्रममा आईसीसी प्यानल अम्पायर बुद्धिबहादुर प्रधान सहित लेभल टु अम्पायर कमलेश ठाकुरले प्रशिक्षण दिनेछन्।

उद्घाटन कार्यक्रममा प्रदेश नम्बर १ क्रिकेट संघका सदस्य टीकाराम पुरी, जिल्ला क्रिकेट संघ इलामका अध्यक्ष अर्जुन पौडेल लगायत उपस्थित थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)

सम्बन्धित खबर