

विराटनगर – ३८ औं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि झापा–११ ले उचालेको छ । झापाले दोस्रोपटक विराट गोल्डकपको उपाधि कब्जा गरेको हो । सहिद रंगशालामा आइतबार राति भएको रोमाञ्चक फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरलाई २–१ गोलअन्तरले निराश बनाउँदै झापाले फेरि एकपटक आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा स्थापित गरेको छ ।
खेलको सुरुआतदेखि नै दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो । दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । सम्राट स्पोर्टिङले १६ औं मिनेटमा पाएको उत्कृष्ट अवसरमा सुरज तामाङले डिबक्सभित्रबाट प्रहार गरेका थिए । तर, झापाका गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाए । त्यसको केही क्षणमै झापाका सुलमान किङले गरेको प्रहार पोस्ट बाहिरिएको थियो ।
दोस्रो हाफमा झापा थप आक्रामक रूपमा मैदान उत्रियो । खेलको ४७ औं मिनेटमा राजेश दाहालले गरेको प्रहार लक्ष्यभन्दा बाहिरिएको थियो भने ५५ औं मिनेटमा मौसम सुब्बाको कडा प्रहारले पनि जाली चुम्न सकेन । लगातार दबाब सिर्जना गरिरहेको झापाले अन्ततः ८१ औं मिनेटमा अग्रता लिन सफल भयो । गोलरक्षक विशाल सुनारले दिएको लामो पासलाई उत्कृष्ट नियन्त्रणसहित राजेश दाहालले गोलमा परिणत गर्दै टोलीलाई महत्वपूर्ण अग्रता दिलाए ।

झापाले पहिलो गोल गरेको केही समयमै खेल आफ्नो पक्षमा पार्ने अर्को अवसर सदुपयोग गर्यो । ८७ औं मिनेटमा फागुराम थारूको सटीक पासमा दिवस उराउले गोल गर्दै झापाको जित सुनिश्चित गरेका थिए । दुई गोलले पछि परेको सम्राट स्पोर्टिङले हार नमान्दै इन्जुरी समयमा सौरभ तामाङमार्फत एक गोल फर्कायो । तर, त्यो सान्त्वना गोलमै सीमित रहँदा सम्राटको पुनरागमन प्रयास सफल हुन सकेन । यस जितसँगै झापा ११ ले ११ लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ भने उपविजेता सम्राट स्पोर्टिङ क्लबले ५ लाख रुपैयाँमा चित्त बुझाउनु परेको छ । झापाले यसअघि २०७१ सालमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पहिलो पटक यो प्रतिष्ठित प्रतियोगिताको उपाधि जितेको थियो । यसपटकको जितले उसलाई पुनः शीर्ष स्थानमा पुर्याएको छ ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाका राजेश दाहाल ‘प्लेयर अफ दी म्याच’ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताभरि झापाकै खेलाडीहरूको वर्चस्व देखियो । फागुराम थारू तीन गोलसहित ‘हाइ स्कोरर’ बने । उत्कृष्ट गोलरक्षकको उपाधि विशाल सुनारले जिते भने झापाका प्रशिक्षक सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । यी विधागत विजेताहरूले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यता, उपविजेता टोली सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । उनले नगद ५१ हजार रुपैयाँ पुरस्कार पाए । समग्र प्रतियोगितामा उनको प्रदर्शन प्रशंसनीय रहयो । जसले टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएको थियो । चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतसहित विभिन्न स्थानका ८ टोलीको सहभागिता रहेको थियो ।



