
काठमाडौं – नेपाली राष्ट्रिय महिला टिमले मलेसियासँग दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्ने भएको छ । सोमबार (जेठ ४) नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली महिला टिमले मलेसियासँग दुई टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने तय भएको जनाएको हो ।
क्यानका अनुसार, शृंखला यही मे २० र २२ मा हुनेछ । नेपालले एसीसी महिला प्रिमियर कप छनोट प्रतियोगिताको पूर्वसन्ध्यामा घरेलु टिमसँग शृंखला खेल्न लागेको हो ।

नेपालले मे २३ देखि ३१ सम्म छनोट प्रतियोगिता खेल्दै छ । आइतबार (जेठ ३) क्यानले टिमलाई एक कार्यक्रम आयोजना गरी बिदाइ गरिसकेको छ ।

प्रतियोगिताका निम्ति इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरिएको थियो । सीता रानमगरले टिममा पुनरागमन गरेकी छन् । सिमाना केसी र सोनी पाख्रिन पनि टोलीमा अटाएका छन् ।
गएको महिना रुवान्डामा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) महिला च्यालेन्ज ट्रफीमा उनीहरू टिममा थिएनन् । उक्त प्रतियोगितामा टोलीमा रहेका सुमन विष्ट, रोमा थापा र रचना चौधरी भने बाहिरिएका छन् ।
नेपाली टोली–
इन्दु वर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पूजा महतो (उपकप्तान), विन्दु रावल, कविता कुँवर, सम्झना खड्का, मनीषा उपाध्याय, कविता जोशी, रुवि पोदार, अनु कढायत, सिमाना केसी, सोनी पाख्रिन र रिया शर्मा ।


