काठमाण्डाै – नेकपा एमालेकी सांसद पवित्रा निरौला खरेलले भारत र चीनबाट हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको छ भन्ने विषयबारे संसद्लाई स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको छ ।
आज शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खरेलले संसद् बाहिर हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको चर्चा भएको उल्लेख गर्दै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन प्रधानमन्त्री देउवासँग माग गर्नुभएको हो । उहाँले त्यस सम्बन्धमा प्रधानमन्त्रीले संसद बाहिर कुरा उठाए पनि संसदभित्र जानकारी नगराएको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि ठूलो रकम छुट्टयाइएको कुरा उठिराखेको छ । प्रधानमन्त्रीले बाहिर कुनै कोठामा हतियार ल्याइन्नँ भन्ने कुरा उठाउनुभएको कुरा सुन्नमा आएको छ । तर प्रधानमन्त्रीले याे कुरा सदनभित्र आएर किन भन्न सक्नु हुन्न ? तत्काल उहाँले संसदमा आएर यसबारे प्रष्ट पार्नुपर्छ । ’
सांसद खरेलले झापाको विभिन्न ठाउँमा जङ्गली हात्ती आतङ्कका कारण धानबाली समेत लगाउने अवस्था नआएको जानकारी गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । धानबाली लगाउने बेलामा सरकारले धानको बिउसमेत किसानलाई व्यवस्था गर्न नसकेको उहाँले गुनासो गर्नुभयो ।