Aamsanchar

थप दुई न्यायाधीश पदमुक्त

Author Image
शनिवार, असार ३२, २०७९

काठमाडौँ — न्याय परिषद्ले उच्च अदालत सुर्खेतको जुम्ला इजलासका नसरुल्लाह अन्सारी र बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहलाई पदमुक्त गर्न सिफारिस गरेको छ । खराब आचरण र कार्यक्षमताको अभाव पाइएपछि पदमुक्त गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष सिफारिस गरिएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

उनीहरूविरुद्ध परेका उजुरीमाथि अनुसन्धान र उनीहरूले गरेका फैसला अध्ययनपछि दोषी पाइएकाले पदमुक्त गर्ने सिफारिस गरिएको प्रवक्ता कार्कीले बताए ।

परिषद्को सिफारिसअनुसार कामु प्रधानन्यायाधीश कार्कीले उनीहरू दुवैजनालाई आइतबार पदमुक्त गर्ने निर्णय गर्नेछन् । नवलपरासीका अन्सारी २०७३ पुस २९ मा सिधै उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । त्यस्तै रुकुमका शाह २०४३ साउन २६ मा न्याय सेवा प्रवेश गरेर २०६६ भदौ २३ मा जिल्ला न्यायाधीश नियुक्त भएका थिए । करिब १३ वर्षदेखि एउटै पदमा रहेका शाह हालका जिल्ला न्यायाधीशहरूमा पुरानामध्येका हुन् ।

त्यसैगरी परिषद्ले उच्च अदालत तुलसीपुरकी न्यायाधीश बबिता उप्रेतीलाई सचेत गराउने पनि निर्णय गरेको छ । उनले गरेका फैसला अध्ययनपछि कार्यक्षमताको अभावमा उनलाई सचेत गराउने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए । काठमाडौंकी उप्रेती पनि अन्सारीसँग एकैदिन अर्थात् २०७३ पुस २९ मा सिधै उच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् ।

परिषद्ले अघिल्लो साता उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गरेको थियो । धनुषाकी साहले योग्यता ढाँटेर नियुक्ति लिएको भन्दै असार २४ मा उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

 

२०७५ चैत २० मा उच्च अदालतमा नियुक्त भएकी उनलाई नियुक्ति लिनलाई आफ्नो अयोग्यता लुकाएको आरोप लागेको थियो। १० वर्ष निरन्तर वकालत गरेको वा कानुनको क्षेत्रमा काम गरेको व्यक्तिका रूपमा नियुक्त भएकी उनले २० वर्ष सीटीईभीटीमा सामान्य प्रशासन सेवाको जागिरे भएर बिताएकी थिइन् । उनी पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर