Aamsanchar

भाउन्नेको जंगलमा किरा परेको अवस्थामा महिलाको शव भेटियाे

Author Image
मङ्गलवार, साउन ३, २०७९

विराटनगर – मोरङको बेलबारी नगरपालिका–१० स्थित भाउन्नेको जंगलमा किरा परेको र सडेको अवस्थामा मंगलबार दिउँसो एकजना महिलाको शव भेटिएको छ ।  शवको पहिचान खुलेको छैन ।

सिर्जना सामुदायिक वनभित्र अन्दाजी ४५–४६ वर्षीया महिलाको शव फेला परेको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए ।

उनका अनुसार जंगलमा निगुरो टिप्न गएकाहरुले शव देखेपछि दिउँसो २: ३० बजेतिर प्रहरीलाई खबर गरेका थिए । अपरिचित महिलाको मृत्युको कारण भने नखुलेको उनले बताए ।

शवको प्रकृति हेर्दा घटना केहीदिनअघि भएको जस्तो देखिने प्रहरीले जनाएको छ ।

घटनास्थलबाट उठाएर प्रहरीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

‘मृतकको पहिचान खुलेको छैन । सडेर दुर्गन्धित भएको र शरीरका केही भागमा किरा परेको अवस्थामा शव फेला परेको छ,’ डीएसपी कार्कीले भने, ‘शव पोस्टमार्टमका लागि धरान पठाएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको कारण खुल्नेछ।’

उनले मृतकको पहिचानको प्रयास भइरहेको जानकारी दिए ।

निलो–सेतो रंगको बुट्टे कुर्ता र रातो–कालो धर्का भएको सलवार लगाएकी महिलाको शव उत्तानो परेको अवस्थामा फेला परेको बताए । प्रारम्भिक अनुसन्धानबाट महिलाको शरीरमा चोट र नीलडाम नदेखिएको प्रहरीले जनाएको छ ।

शवनजिक नेल पोलिसको बट्टा र एउटा बोरा फेला परेको डीएसपी कार्कीले बताए । उनका अनुसार बोराभित्र निगुरो र सालको पात पनि भेटिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर